भदौं २, कैलालाी – कैलालीमा रुघाखोकी र ज्वरोको प्रकोप देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थामा विगतका तुलनामा बिरामीको सङ्ख्या बढेको पाइएको छ ।
टीकापुर अस्पताल र टीकापुर नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् । टीकापुरका अरविन्द विकको बच्चालाई रुघाखोकी र ज्वरो आयो । बच्चालाई निको हुन छ दिन लाग्यो । ज्वरो बिसेक भए पनि खोकी एक साताभन्दा बढी समयसम्म रह्यो । बच्चासँगै आमा र घरका अन्य सदस्यलाई पनि रुघाखोकी र ज्वरोले सतायो । “परिवारका सबैलाई च्याप्यो, रुघाखोकी र ज्वरोका कारण बच्चालाई एक साता विद्यालय पठाएनौँ”, विकले भने ।
टीकापुरस्थित विजयनगर सहरी स्वास्थ्य केन्द्रमा बिरामी दोब्बरले बढेका छन् । स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका छन् । परिवारका पूरै सदस्य बिरामी भएको पाइएको सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाह बताउछन् ।
“विगतमा दैनिक ३५ जनासम्म बिरामी आउँथे, हाल दैनिक ६० बिरामीको उपचार गर्नुपरिरहेको छ”, उनी भन्छन् , “बिरामी एकै घरका बच्चादेखि वृद्धसम्म रहेका छन् ।”
यस्तै मनिकापुर सहरी स्वास्थ केन्द्रमा पनि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । स्वास्थ्यकर्मी कविता खड्काका अनुसार विगतका तुलनामा बिरामी बढी आउने गरेका छन् । “बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण छन्”,उनी भन्छन्“खोप लगाइसकेका छौँ भनेर उनीहरु ढुक्क छन् ।”
सत्ती सहरी स्वास्थ्य केन्द्रमा समेत यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताउछन् । “विगतभन्दा दोब्बर बिरामी बढेका छन् । सबैमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या छ”, उनले भने। बिरामीलाई धुलोधुवाबाट बच्न, तातोपानी पिउन, औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन स्वास्थ्यकर्मीले सुझाव दिने गरेका छन् ।
धनसिंहपुर स्वास्थ्यचौकीमा पनि बर्सात सुरु भएपछि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढेका जनस्वास्थ्य निरीक्षक केवलसिंह सार्कीले बताए। “बर्सातको समय भएकाले पनि मौसमी रुघाखोकी र ज्वरोका बिरामी बढी आइरहेका छन्”, उनले भने।
टीकापुर अस्पतालका डा संवाद खरेल आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरल ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र केही स्क्रब टाइफसका लक्षण भएका बिरामी आउने गरेका बताउछन्। “बिरामी बढेका छन्, सबैमा एकनास लक्षण छन्”, उनी भन्छन् । कैलालीका पालिकाले अनिवार्य मास्क प्रयोग गर्न, शङ्का लागेमा कोभिड परीक्षण गर्न तथा उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।