वर्षाले किसानलाई राहत

साउन २९, महोत्तरी – महोत्तरी सहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको छ ।

पानीबेगर रोपेको धान रोपोमै पहेँलिदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानलाई पछिल्लो वर्षाले थोरै आशा जगाएको छ । पछिल्लो वर्षाले धान रोप्न नै पानी नपुगे पनि पहिलेको रोपो जाग्ने किसानलाई आश जागेको हो । जिल्लामा मध्य साउनयता गए राति पानी परेको हो ।

“धान अब के होला भनेर आश मारेका थियौँ, पछिल्लो वर्षाले फेरि आश जगायो”, महोत्तरीको भङ्गाहा–४ का किसान रामसागर यादवले भने , “अब केही दिन पानीले साथ दिए थप रोपाइँ पनि गर्न पाइने छ ।” पछिल्लो वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको उनको भनाइ छ । केहीबेरकै भए पनि पछिल्लो वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ । पछिल्लो वर्षा पूर्वपश्चिम राजमार्ग आसपास भएर बढी परेको पाइएको छ ।

पछिल्लो वर्षाले तालु फुट्लाजस्तो चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरन क्षेत्रमा सुकेका घाँसका झाम्टा अब पलाउने र गाईवस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन् ।

यसैबीच मौसमविद्हरुले अब दुई–तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन् । जिल्लामा यसपालि पानीकै अभावले अपेक्षित धान रोपाइँ हुनसकेको छैन । पानी राम्रो परे अझै खरुवन ९कलम, पहिलेको रोपो गाँजिएपछि फेरि उखेलेर रोप्ने बीउ० बाटै पनि केही रोपाइँ थप्न सकिने किसानको आश छ । मधेसमा खरुवनको रोप भदौ पहिलो सातासम्म गर्न सकिने किसान बताउँछन् ।

महोत्तरीमा कुल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म करिब ६५ प्रतिशत रोपाइँ हुनसकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ । जिल्लामा कुल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ ।

साउन मध्य बर्खाकालको महिना भए पनि यसपालि अल्प वर्षाले खेतीपातीको काम अपेक्षित हुनसकेको छैन । शनिबारको वर्षाले आम किसानलाई लामो पर्खाइपछि प्राप्त हुँदा चाडवाड आएजस्तै खुुसी दिएको हो ।