साउन १८, काठमाडौ – युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नाटोका महासचिवबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नाटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ ।
मङ्गलबार उनीहरुका बीचमा फोनवार्ता भएको थियो । वार्ताका क्रममा युक्रेनका राष्टपति जेलिन्स्किीले नाटो महासचिव जेन्स स्टोलटेन्बर्गलाई युक्रेनको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
त्यस अवसरमा उनले यसै वर्ष भएको ‘म्याड्रिड समिट २०२२’ मा भएको सहमति बमोजिम युक्रेनले हतियार प्राप्त गर्नुपर्ने विषयमा पनि स्मरण गराएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
युक्रेनमाथि रुसले आक्रमण गरेपछि केही महिनादेखि रुस र युक्रेनका बीचमा द्वन्द्व जारी रहेको छ । युद्धका कारण युक्रेनको आर्थिक अवस्था निकै कमजोर बन्दै गइरहेको बताइएको छ ।
त्यस कुराकानीका क्रममा राष्ट्रपति जेलिन्स्किीले युक्रेनले नाटो संगठन तथा नेटोका सदस्य राष्टहरुबाट ठूलो हतियारहरुको अपेक्षा गरिरहेको जानकारी दिनुए ।
स्पेनको राजधानीमा हालै भएको ‘म्याड्रिड समिट २०२२’ मा युक्रेनलाई हातहतियारका साथै इन्धन, सञ्चार प्रविधिमा सहयोग गर्ने सहमति भएको थियो ।