‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई

असार १९, काठमाडौं – मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जितेका हुन् । उपाधिसँगै उनले एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि हात पारेकाहुन्। नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो ।

प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जितेका छन् । उनले उपाधिसहित नगद एक लाख प्राप्त गरेका छन्। डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् । ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्तरूपमा विजेता बनेका छन् । उपाधिसहित दुवैले रु ७५ हजार प्राप्त गरेको आयोजक कमिटीले जनाएको छ । उनीहरुले स्पाइडरम्यानको जोडीलाई हराएका थिए ।

मिडल वेट म्याचको च्याम्पियन साइन बने । उनले बाकालाई हराउँदै उपाधिसहित ९५ हजार प्राप्त गरेका छन् । महिला म्याचको विजेता आकृति बने । उनले ७० हजार जितेका छन्। आकृतिले तनुलाई हराएका थिए । लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेतासँगै ६० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताका विजेतालाई एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, पूर्वकानुनमन्त्री अग्नि खरेल, नेकपा ९एमाले०का नेता देवराज घिमिरे, सांसद एलपी साँवा, एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखे, सङ्घका महासचिव सुवर्ण श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।