चैत ११, महोत्तरी –बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् । बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० भन्दा बढी बस्तीका बासिन्दा निदाउन सकेका छैनन् । पहिराले खयरमारा खोला थुनेर हिउँदे बाटोसमेत अवरुद्ध गरेपछि बजारसँगको सम्बन्ध पनि काछवासीको टुटेको छ ।
चैतको सुक्खायाममै भीषण पहिरो गएपछि काछका बासिन्दा डराएका छन् । बर्खामा सावधानी अपनाइए पनि हिउँद र त्यसपछि बर्खा नलागुञ्जेल त सञ्चोसँग बस्न पाइन्छ भन्ने सोच बुधबार रातिको पहिराले झस्काएको उहाँसहित काछ बस्तीका बासिन्दाको एउटै पीडा छ ।
खयरमारा बटजारबाट उत्तरतर्फ चुरे पर्वतीय शृङ्खला छन् । यिनै चुरे पहाड काछमा बर्दिबास–१०, ११ का १० भन्दा बढी बस्ती छन् । गर्दीखोला, चनौटे, छोड्के, झ्याउरे, भाङ्ग्रे, पिपलदमार, गुरुङखोला, भालुचौर, बम्जनटार, पूर्वीखोला, सातदिने, शिर, चिसापानी, मासखोला र दोभानसहितका सबै बस्ती चुरे काछका हुन् ।
अहिले सुक्खायाममा सबैलाई तर्साउने गरी पहिरो गएपछि बर्खामा झन् यो सङ्कट बढ्ने यहाँका बासिन्दा बताउँछन् । काछका बस्तीमा दमै, कामी जाति समुदायका एकाध घर भए पनि ९५ प्रतिशत चाहिँ तामाङ छन् । गरिबी, अभाव, अशिक्षा सबैले भोग्ने यहाँको पीडा रहेको खयरमाराका सामाजिक कार्यकर्ता चन्द्रलाल गौतम बताउछन् ।
बुधबार मध्यरातपछि ठूलो आवाजमा पहिरो गएको काछ बस्तीका बासिन्दाको भनाइ छ । पहिरो गएको तीनतले वरपर नै पातलो पातलो देखिने बस्तीमा २०० भन्दा बढी घरपरिवार छन् । पहिराले खोल्सा थुनेपछि त्यता आवतजावतको साना सवारीसाधन पनि अहिले चल्न नसक्ने भएका छन् । हिउँदभरि खोलाबाटै आवतजावत गरिने सडक छ । अब त्यो पुरिएपछि बजार आवतजावत गर्न कति दिन नपाइने हो यकिन गर्न नसकेको काछ बस्तीका पाका व्यक्ति बताउँछन् ।
यसैबीच बर्दिबास–११ का वडाध्यक्ष धनबहादुर तामाङले पहिराको समस्याबारे नगर कार्यपालिकाको कार्यालय र नगरप्रमुखलाई अवगत गराएको जानकारी दिए । तत्काल पहिरो पन्छाएर बाटो खोल्ने र काछ बस्तीको दीर्घकालीन सुरक्षाका लागि आवश्यक पहलकदमी अहिलेको खाँचो भएको उहाँको भनाइ छ । पछिल्ला केही दिनयता अचाक्ली बढेको तापक्रमका कारण पहिरो गएको हुनसक्ने वातावरणविद्ले अड्कल गरेका छन् ।
चुरे पहाडमा रहेको खुकुलो चट्टानमा चिसो र तातोको सन्तुलन बन्न नसक्दा अहिले सुक्खा पहिरो गएको हुनसक्ने जिल्लाकै भङ्गाहा–७ का बासिन्दा वातावरण तथा चुरेविज्ञ डा विजयकुमार सिंहको भनाइ छ ।