फागुन ३०, नवलपुर- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो ।
नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको उहाँले जानकारी दिए ।
ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायतका समस्याले विस्तारमा ढिलाइ भएको जनाइएको छ ।
त्यसैगरी खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्सातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या रहेको उनको भनाइ छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो सक्न मजदुरको सङ्ख्या बढाएर काम गर्न निर्देशन दिएको बताए ।
उनले सबै ठाउँमा एकैपटक काम गर्नभन्दा सानो सानो क्षेत्रमा काम सक्दै अगाडि बढ्न निर्देशन दिएको बताए । सो सडकखण्ड विस्तारको काममा अहिले दैनिक झण्डै ७०० को हाराहारीमा मजदुर खटिएका इन्जिनियर दिष्टीले जानकारी दिए । सो खण्डमा पर्ने सात साना पक्की पुल (माइनर ब्रीज) सञ्चालनको अन्तिम तयारीमा रहेको उल्लेख गर्दै उनले पुल सञ्चालनमा आएसँगै यात्रामा केही सहज हुने बताए । सडकखण्डको सात वटा पुल निर्माण सकेर अहिले माटो भर्ने काम चलिरहेको छ ।
‘आउने बर्खामा डाइभर्सनका कारण यात्रुले दुःख नपाउन् भन्नका लागि हामीले कामलाई प्रभावकारीरुपमा अगाडि बढाउन भनेका छौं ’ उनले भने ‘गैँडाकोटको थुम्सी जङ्गल क्षेत्रमा निर्माणाधीन सबै पुल आउने बर्खाअघि नै सम्पन्न हुन्छन् ।’ सडकको पूर्वी खण्डअन्तर्गत २२ माइनर ब्रीज (साना पुल) निर्माण हुने र अहिले १५ पुल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए दिए । ‘पूर्वी खण्डमा निर्माण हुने १२ मेजर ब्रीज (ठूला पुल) मध्ये छ निर्माणको क्रममा छन् ’
पछिल्लो समय सडक विस्तारको कामले केही गति लिएको उहाँले दाबि समेत गरे । प्रमुख दिष्टीका अनुसार मध्यबिन्दुको चोरमारा र अरुणखोला जङ्गल क्षेत्रमा सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने र पुल निर्माणको काम सुरु भएको छ । दाउन्ने पहाडको माटो कटान गर्ने काम पनि सञ्चालन भइरहको छ । सडक विस्तारका लागि मजदुरसँगै २१३ औजार उपकरण प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ ।
करिब एक घण्टामा पार गरिने नारायणगढ बुटवल सडकको पूर्वी खण्ड विस्तारको काम ढिला हुँदा पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । निर्माणाधीन सडकमा उड्ने धुलोका कारण स्थानीय तथा यात्रुले निकै सास्ती खेप्नुपरेको छ । करिब ६५ किलोमिटर पूर्वी खण्डमध्ये १७.६ किलोमिटर छ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड)मा विस्तार हुनेछ ।
सडक विस्तार आयोजनाको म्याद आगामी साउन २२ मा सकिँदैछ । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको पूर्वी खण्ड रु नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो ।