पुष २८, रुकुम – रुकुमपूर्व अस्पतालमा स्वास्थ्य बिमा सेवासँगै सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु भएको छ । रुकुमपूर्व अस्पतालबाट तीनवटा सेवा पाउन थालेपछि यहाँका नागरिक खुशी भएका छन् ।
अस्पतालमा स्वास्थ्य बिमा सेवा, १० हप्तासम्मको सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा सुरु गरिएको छ । यी तीनवटै सेवाको मङ्गलबार आरम्भ गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओली, सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बराल र प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले संयुक्तरूपमा नयाँ सेवा सुरु भएको घोषणा गरे ।
अस्पताल स्थापना भएको दुई वर्षपछि स्वास्थ्य बिमा, सुरक्षित गर्भपतन र रेबिजविरुद्धको भ्याक्सिन सेवा प्रवाहले नागरिकको स्वास्थ्य उपचारमा सहज भएको र जिल्लावासी पनि उत्साहित भएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए ।
तीनवटै सेवा सुरु भएसँगै जिल्लावासीलाई स्वास्थ्य उपचारमा राहत मिल्ने भएको छ । नयाँ सेवाप्रवाह स्वास्थ्यकर्मीले नागरिकलाई सहजरुपमा दिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष फत्तेकुमारी ओलीले आग्रह गरे । रुकुमपूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा गणेश चौधरीले नागरिकका गुनासा अब कम हुँदै जाने बताए ।