पुष १२ बागलुङ – नेपाली कांग्रेस बागलुङको नवनिर्वाचित कार्य समितिले आफ्नै पार्टी कार्यालय भवन बनाउने भएकोे छ । यसका लागि कार्यसमितिले आर्थिक सङ्कलन अभियान सुरुआत समेत गरेको छ । पहिलो चरणमा कार्य समितिभित्रबाटै आर्थिक सङ्कलन अभियान समेत सुरु भएको छ । हालसम्म रु सात लाख ६२ हजार १५१ सङ्कलन भएको जनाइएको छ ।
सुरुआती चरणमा जिल्ला सदस्य धर्मबहादुर क्षेत्रीले रु दुई लाख ५० हजार, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माले रु दुई लाख एक हजार १५१, जिल्ला सदस्य तेजेन्द्रविक्रम कुँवरले रु एक लाख, कृष्णबहादुर घिमिरेले रु एक लाख र टीकाराम थापाले रु एक लाख ११ हजार सहयोग गरेका छन् ।
आगामी एक वर्ष नसके दुई वर्षभित्रै पार्टीको आफ्नै भवन हुने सभापति जीतबहादुर शेरचनले जानकारी दिनुभयो । उहाँले जग्गा व्यवस्थापनसहित भवन निर्माण गर्ने गरी योजना बनाएर आर्थिक व्यवस्थापनमा लागेको बताए । उनले पार्टीको आफ्नै भवन नहुँदा व्यक्तिका घर भाडामा लिएर पार्टी सञ्चालन गर्दा समस्या भएको जानकारी दिए ।
पार्टी कार्यालय सुविधा सम्पन्न हलसहितको हुने उनको भनाइ छ । पार्टीको पहिलो बैठकले सङ्गठनलाई सुदृढीकरण गर्नका लागि जिल्लाका सबै पालिकामा संयोजक तथा सदस्य तोकिएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले जिल्लाको अलपत्र खण्ड मध्यपहाडी लोकमार्गलाई छिटो सक्नका लागि ध्यानार्कषण गर्ने निर्णयसमेत गरेको छ । जिल्लामा हालसम्म राजनीतिक दलको आफ्नै कार्यालय छैन ।
भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आइरहेका छन् । नेकपा ९एमाले०ले भवन बनाउन शिलान्यास गरेको चार वर्ष बित्दासमेत भवन बन्न सकेको छैन । जिल्लामा सक्रिय सबै राजनीतिक दल व्यक्तिका घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् ।
विभिन्न समय पार्टीले आफ्नै भवन निर्माण गर्ने चर्चा नचालाएका भने होइनन् । बेला–बेलामा यस विषयमा चर्चा नै हुने गर्छ तर केही समयमै सेलाउँछन् ।