कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै, १८८ जनाले गुमाए ज्यान

साउन २९, कञ्चनपुर – कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ ।  स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ ।बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्न थालेको हो ।
बिहीबार मात्रै भीमदत्त नगरपालिकामा चार, दोधारा चाँदनीमा एक, कृष्णपुरमा एक, पुर्नर्वासमा दुई र गड्डाचौकीमा एक जना गरी नौ जनामा सङ्क्रमण देखिएको छ । गएको पाँच दिनको अवधिमै ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
 कोरोना सङ्क्रमण देखिएकामध्ये चारको आइसोलेशनमा र ११६ को होम आइसोलेशनमा उपचार भइरहेको छ । वैशाख महिनादेखि हालसम्म छ हजार ९९१ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ८२३ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो ।
 त्यसैगरी २९ हजार ५०१ जनाको एन्टेजेन परीक्षण गर्दा दुई हजार ४५९ जनामा सङ्क्रमण देखिएको थियो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार २११ पुगेको छ । तीमध्ये सात हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् ।
कोरोना सङ्क्रमणबाटै कञ्चनपुरमा १८८ जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । स्थानीय तहले सरोकारवालासँग छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाव लिने र योजना बनाउने कार्य अगाडि बढाएका छन् ।