साउन २५, लन्डन – समान पेन्सनलगायतका माग राखी १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत एक सदस्य ज्ञानराज राईले बताए ।
नेपाल सरकारले शनिबार गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर राईलाई पत्र लेखी बेलायत सरकारसँग कूटनीतिक तवरबाट संवाद थाली समस्या समाधान गर्ने कुराको अवगत गराउँदै भोक हडताल रोक्न अनुरोध गरेको थियो तर उक्त कुरालाई आन्दोलनरत समूहले अस्वीकार गरेको छ ।