असार २५,जुम्ला : जुम्लामा पहिलो पटक जातीय विभेद विरुद्धको मुद्धा दर्ता भएको छ । जिल्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कालिबहादुर बुढा र उनका छोरा नविन बुढा विरुद्ध जातीय विभेद विरुद्धको मुद्धा दर्ता भएको हो ।
नेपाल मजदुर किसान पार्टीबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका बुण र उनका छोराले कार्यकक्ष भित्रै वडा नम्बर ६ कै दलित युवा विवेन्द्र नेपाली माथि जातीय विभेद गरेका थिए ।
पीडित विवेन्द्र नेपालीले आफूले वडामा भएको विकासको विषयमा वडा अध्यक्ष बुढा सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विषयमा टिप्पणी गरेपछि आफूमाथि विभेद भएको भन्दै जिप्रका जुम्लामा मुद्धा दर्ता गर्न खोजेका थिए ।
तर विगत दुई दिन देखि जुम्ला प्रहरीले मुद्धा दर्ता गर्न मानेको थिएन । शुक्रबार जिल्लाका दलित युवा तथा अधिकारकर्मीहरुको चर्को दवाबपछि प्रहरी मुद्धा दर्ता गर्न बाध्य भएको हो ।
अधिकारकर्मी गोविन्द्र सुनारले दुई दिनको अथक प्रयासपछि मुद्धा दर्ता भएको बताए । उनका अनुसार विवेन्द्र नेपाली आवेदक रहेको उक्त मुद्धा दर्ता नम्बर ८४ मा दर्ता भएको छ ।