डा.दामोदर रेग्मी
संगठनका आ आफ्ना उद्देश्यहरु हुन्छन् ती उद्देश्यहरु प्राप्तिका लागि संगठनमा मानवीय र गैर मानवीय स्रोतहरुको व्यवस्था गरिएको हुन्छ । मानवीय र गैर मानवीय स्रोतहरुको कुशल संयोजन र व्यवस्थापन संगठनको सफलताको संवाहक हो ।सांगठनिक मनोविज्ञान यिनै साधन स्रोतहरुको उपलब्धता रव्यवस्थापन वाट संगठनको उद्देश्य प्राप्तिका लागि मानवीय संवेदना र अन्तरसम्बन्ध संग सम्बन्धित विषय हो । यसको विववेकपूर्ण व्यवस्थापनमा नै संगठनको सफलता निर्भर रहेको हुन्छ ।
मानव संसाधन व्यवस्थापन संगठनको लागि अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । संगठनको उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । यसलाई मानवशक्ति,श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने क्षमतालेयुक्त महत्वपूर्ण श्रोत हो ।मानव शक्ति संवेदनालेयुक्त श्रोत पनि हो ।संवेदना र बौध्दिक क्षमता तथा कुशलताको कारणले मानवस्रोतको व्यवस्थापन महत्वपूर्ण मानिने गर्दछ ।सांगठनिक मनोविज्ञानको क्षेत्र पनि यिनै परिवेशमा केन्द्रित रहेको हुन्छ ।
मानव संसाधन व्यवस्थापनले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्याउंछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास, सामयिक संभार, एकाकार, अवकाश ,अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । मानव श्रोत व्यवस्थापन यी सवै कार्यहरुको श्रृड।खलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरुप हो । यी सवै चरणवध्द श्रृंखलाहरुको विवेकपूर्ण, दिगो र परिणाममूलक व्यवस्थापन कौशलतापूर्ण रणनीतिक व्यवस्थापन नै संगठनको सफलताको कारक तत्व हो। कुशलतापूर्ण मानव संशाधनको व्यवस्थापनले सकारात्मक सांगठनिक मनोविज्ञान निर्माण गर्न सहयोग गर्दछ ।
जनशक्तिलाई रणनीतिक साधनको रुपमा लिई मानव संसाधन संग सम्बन्धित सवै कार्यहरुवीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा नियमित प्रयोगमा आउने प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएकोमा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुदै आईरहेको छ ।मानव सभ्यता र समयको विकासक्रम संगै मानव संसाधन व्यवस्थापनको अवधारणामा पनि सामयिक परिवर्तनहरु भएका छन् र यो परिवर्तनले प्रारम्भका दिनमा मानवलाई साधनको रुपमा लिईएको र पछि क्रमशः मानवलाई पूंजीको रुपमा लिने चलन वढी मानवीय संवेदनात्मक पक्ष र उत्प्रेरणामा जोड दिने गरेको पाईन्छ ।मानवीय संवेदनात्मक पक्षको सकारात्मक सम्बन्धले मानव शक्तिलाई उत्प्रेरित वनाइ मानवपूंजीमा रुपान्तरण गर्नमा सहयोग गर्दछ । यसका लागि मौद्रिक तथा गैर मौद्रिक उपायहरु प्रयोगमा आउने गर्दछन् । यसको साथसाथै असल संगठनात्मक व्यवहारको प्रयोगले मानव शक्तिलाई उत्प्रेरित गर्नमा सहयोग गर्दछ ।संगठनमामानवीय संवेदनात्मक पक्षको सम्मान र उत्प्रेरित कार्य वातावरणको निर्माण सकारात्मक सांगठनिक मनोविज्ञानको अर्को महत्वपूर्ण पक्ष हो ।
सांगठनिक मनोविज्ञानको अर्को महत्वपूर्ण आयाम संगठनात्मक व्यवहार संग सम्बन्धित छ ।संगठनमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत तथा समूहगत क्रियाकलाप नै र संगठनात्मक व्यवहार हो।संगठनमा काम गर्दा मानिसले कस्तो व्यवहार देखाउँछन् त्यस्ता व्यवहारहरू देखाउनका कारण त्यस्तो व्यवहारबाट संगठनमा कस्तो प्रभाव पर्दछ भन्ने विषय संगठनात्मक व्यवहारको अध्ययन हो।संगठनमा कार्यरत व्यक्ति, समूह तथा संरचनाले देखाउने संयुक्त व्यवहार नै संगठनात्मक व्यवहार हो ।संगठनमा कार्यरत मानिसमा अन्तरनिहित भावना,संगठनमा प्रवेश गर्दा लिएर आएको दृष्टिकोण विश्वास र व्यवहार संगठनको कार्यसंस्कृति र कार्यव्यवहार ले व्यक्तिको चालचलन व्यवहारमा पर्ने प्रभाव संगठनात्मक व्यवहारका पक्षहरू हुन्।संगठनात्मक व्यवहारको अध्ययनले यी सवै विषयहरूको प्रभावको अध्ययन गरि असल संगठनात्मक संस्कृतिको विकासमा सहयोग पुर्याउंदछ। संगठनात्मक व्यवहारलेसंगठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तोव्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ भनेर हेर्छ ।व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी कस्ताकाम वा क्रियाकलापबाट व्यक्ति संगठनप्रति उत्प्रेरित हुन्छ भन्ने विषयमा ध्यान दिने गर्दछ ।
कार्यशक्तिको विविधताको व्यवस्थापन सांगठनिक मनोविज्ञानको अर्को महत्वपूर्ण पक्ष हो । संगठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तोव्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ र यसको व्यवस्थापन कसरी गरिनु पर्दछ भन्ने विषयलाईकार्यशक्तिको विविधताको व्यवस्थापन भन्ने गरिन्छ ।
कार्यशक्तिको विविधताको व्यवस्थापनको अवधारणाले जनशक्तिहरु वीच समता र सम्मानको अपेक्षा राख्ने गर्दछ । संगठनमा कर्मचारीहरु सहकर्मीहरु संग समूहमा रहेर काम गर्दा कार्यशैली संस्कृति कार्य वातावरण जातीय भाषिक धार्मिक उमेर समूह लैंगिक विविधताहरु रहने गर्दछ । यी विविधताहरु वीच सामन्जस्यता वा अन्तरसम्बन्ध कायम गर्न सकिएमा विविधतायुक्त संगठन विशेषतायुक्त संगठनमा रुपान्तरण हुन सक्दछ । व्यवस्थापनको आधुनिक अवधारणाले यी विविधताहरुलाई विशेषतामा रुपान्तरण गर्नु पर्ने मान्यता राख्दछ ।संगठनका यी विविधताको सम्मान र सम्बोधन गर्नु आवश्यक हुन्छ । यसले संगठनलाई सौहार्ध्द सामाजिक संगठनमा रुपान्तरण गर्दै कुशल सांगठनिक संस्कृतिको माध्यमव्दारा लक्ष्य प्रति उन्मुख र जागरुक सगठनको विकासमा सहयोग पुग्दछ ।यसका लागि मानव स्रोत व्यवस्थापनका चरणबध्द श्रृंखलाहरुलाई मानव पूंजी वा प्रतिभा व्यवस्थापनको आयाममा हेरी जनशक्तिलाई संगठनको अमूल्य निधिको रुपमा उपयोग संगठनात्मक व्यवहारको सामयिक प्रयोगवाट मानवीय क्षमता र विशेषताको सम्मान तथा संगठनलाई एउटा आदर्श र सहिष्णु सामाजिक संगठनमा रुपान्तरण गर्नु आवश्यक हुन्छ । संगठनलाई सामाजिक आयाम वाट हेर्ने र सामाजिक अन्तरसम्बन्धलाई मजवूत बनाइ संगठनको लक्ष्य प्राप्तिका लागि अपनाइने गतिविधि, असल कार्य वातावरण, व्यवस्थापकीय कौशलता वाट संगठनमा रहेको जनशक्तिको क्षमताको अधिकाधिक प्रयोग गर्न सकिन्छ ।
(कुशल प्रशासक तथा संघीयता विज्ञ डा. दामोदर रेग्मी नेपाल सरकारका सचिव हुन्)