नेपालमा यस वर्षको मनसुन सुरु भइसकेको छ । मनसुन सुरु भएको पहिलो महिनामा निकै ठूलो क्षति हुन पुगेको छ । पहिलो चरण मै सिन्धुपाल्चोक, मनाङ,मुस्ताङ बाजुरा लगायतका जिल्लामा भौतिक तथा मानवीय क्षति समेत भएको छ । यस्तै देशभरका राजमार्ग अविरल वर्षाका कारण अवरुद्ध भएका छन् । भने देशका सबै क्षेत्रमा सानातिना प्रभाव देखिरहेका छन् । यो वर्ष वर्षाका कारण धेरै क्षति हुने सरकारले बताएको छ । गृह मन्त्रालयले यस वर्ष मनसुनको समयमा १८ लाख जनसंख्या प्रभावित हुने बताएको छ । मन्त्रालयले पुर्वानुमान गरेजस्तै पहिलो एक महिना मै क्षति ठूलो क्षति भइसकेको छ । यसरी हेर्दा अझै दिन महिना बाँकी रहेको मनसुनको समयमा धेरै क्षति हुन सक्ने अनुमान गरिएको छ । त्यसैले सम्पूर्ण नागरिकहरु विपद्को पूर्वतयारीमा रहनु पर्ने हुन्छ । विभिन्न प्रकोपका कारण हुने समस्या समाधानको लागि अग्रिम रुपमा तयारी अवस्थामा रहदाँ क्षति कम गर्न मद्दत पुग्छ । यस वर्ष मनसुन जेष्ठ महिनाबाट सुरु भइसकेको थियो । असोजसम्म मनसुन सक्रिय रहने मौसमविद्हरुले जनाएका छन् । यस्तै बाँकेको कोहलपुरमा रहेको जल मौसम तथा विज्ञान कार्यालय कोहलपुरले तीन वटा प्रदेशमा यस बारेमा जानकारी दिने गरेको छ । लुम्बिनीका दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिम र कर्णालीमा प्रदेशसम्मको मौसम र वर्षाको मापन हुने गरेको हो । मनसुन, यसको सम्भावित असर, प्रभाव र सरोकारवालासँग समन्वय लगायतका विषयमा जल मौसम तथा विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीसँग गरिएको कुराकानी :
१. सर्वप्रथम्, तपाईंको दैनिकी कसरी बितिरहेको छ ?
नेपालमा जेष्ठ २८ गते देखि मनसुन सक्रिय भइसकेको छ । मनसुन सुरु भएसँगै जल तथा मौसम विज्ञान विभागका साथै मातहतका सम्पूर्ण कार्यलयहरु सोही अनुसार सक्रिय भएको अवस्था छ । यस्तो बेलामा खासगरी पूर्वसूचना प्रदान गर्ने हिसाबले यो समय निकै महत्वपूर्ण समय हो । यस कार्यालयको कायक्षेत्र भनेको लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया र कर्णाली र सुदूरपश्चिम रहेको छ ।
यो क्षेत्रमा पनि मनसुनको समयमा धेरै जोखिमहरु रहने गर्दछ । त्यसैले मौसमी रुपमा हुने विपद् व्यवस्थापनका लागि हाम्रो टोली लागिपरेको छ । त्यसका लागि अन्य कार्य पनि निरन्तर भइरहेका छन् । मनसुनको समय भनेको फेरि कृषि प्रदान देशका लागि एउटा उपयोगी समय पनि हो । यस्तो अवस्थामा हामीले सामान्य वर्ष हुने या नहुने कुराको पनि जानकारी प्रदान गर्छौँ ।
हामीलाई हाम्रो कार्य क्षेत्रका जिल्लाबाट त्यस्ता सूचना समेत प्राप्त हुने गर्दछन् । अन्य सरोकारवालाहरुबाट पनि जानकारी माग गर्ने काम हामी गर्दै आएका छौँ । अब अन्य नियमित कार्यलयका कामहरु त भइरहेका छन् ।
२.कोहलपुरमा रहेको प्रादेशिक कार्यालयले गर्ने मूख्य मूख्य कामहरु के के हुन् विस्तृत रुपमा बताईदिनुन ?
यो कार्यालयको सबैभन्दा महत्वपूर्ण काम भनेको जल तथा मौसम सम्बन्धि केन्द्रहरु जसलाई हामी स्टेशन भन्छौँ । यस जल तथा मौसम कार्यालयका नेपालभरी सात सय वटा केन्द्रहरु रहेका छन् । ती सात सय केन्द्रहरु मध्ये हाम्रो कार्यक्षेत्रमा करिब २ वटा केन्द्र रहेका छन् । यो अलि ठूलो क्षेत्र समेत हो । देशका अन्य केन्द्रका हकमा भौगोलिक रुपमा अप्ठ्यारो क्षेत्र यहाँ रहेको छ ।
एउटै जिल्लामा सात, आठ वटा उप केन्द्रहरु समेत रहन्छन् । ती केन्द्रहरुको स्थापना, सञ्चालन, नियमित डाटा संकलन गर्ने र प्रकाशन समेत हामीले नै गर्दछौँ । दोस्रो काम भनेको केन्द्रहरुको नियमित सञ्चालन हुन्छन् । हामीले २४ सै घण्टा जतिबेला पनि सेवा प्रदान गछौँ । तथ्यांकहरुलाई अन्तिम रुपमा दिने र प्रतिवेदनका रुपमा प्रस्तुत गर्ने पनि हाम्रो काम रहन्छ ।
तेस्रो काम भनेको अतिजन्य मौसमी अवस्था अथवा आँधीहुरीको अवस्थाहरु यो क्षेत्रमा रहेका छन् । यस्तो अवस्था बारे पूर्व सूचना जारी गर्छौँ । त्यो बाहेक विभिन्न सरोकारवाला निकायहरुसँग सहकार्य, मौसमी सेवा पनि प्रदान गरिरहेका छौँ ।शितलहरबारे सूचना । जिल्ला स्थित विपद् व्यवस्थापन समितिसँग सहकार्य गर्ने पनि काम हामीले गर्दै आएका छौँ ।
३. यस कार्यलयले कस्ता कस्ता विपद्को पूर्व सूचना दिन गरेको छ नी ?
महत्वपूर्ण प्रश्न राख्नु भयो, नेपालमा मूख्यत जल तथा मौसमी विपद् नै प्रधान छ । एउटा भूकम्प भयो, जसको पूर्व सूचना सम्भव छैन । त्यो बाहेक बाढी, पहिरो, चट्याङ, आँधिहुरी, हिम पहिरो, भूःक्षय सहित विभिन्न प्रकारका नयाँ विपद् समेत देखिदै आएका छन् । कतिपय अवस्थामा आगलागी पनि विपद् हो ।
खडेरी पनि विपद्का रुपमा रहेको छ । जल तथा मौसम विज्ञान कार्यालयले मूख्यत यी सबै किसिमका विपद्हरु बारे जानकारी दिने काम गरिरहेको छ । आँधीहुरी, चट्याङ, असिना देखि लिएर बाढी, पहिरो र आगलागी सम्मका घटनामा यसले निरन्तर काम गर्दै आएको छ । त्यसमा सबैभन्दा सफल भारी वर्षाहरुको पूर्वानुमान भएको छ । त्यसपछि ठूला बाढी आउने सक्ने पूर्वानुमान र पहिरो सतर्क रहन आग्रह गछौँ । यसमा हामीले सफलता पाउँदै आएका छौँ । यस्ता क्षतिबाट बच्न समेत सफल भएका उदाहरण रहेका छन् ।
४. यस क्षेत्रमा सबै भन्दा ठूलो विपद्को रुपमा कुन विपद् रहेको छ ?
हामीले हेर्ने कार्यक्षेत्रमा बाँके जिल्लाको सन्दर्भमा मानखोला, बबई, डुडुवा र किरणनाला रहेका छन् । त्यसपछि पश्चिम राप्ती पनि रहेको छ । कर्णाली क्षेत्र पनि यस्तो अवस्थामा ठूलो विपद्को कारण बन्न सक्ने प्रबल सम्भावना भएको क्षेत्र हो । मूख्य नदिहरुमा बाढीको प्रवाह बढ्नाले तरार्ईंमा समस्या हुने गरेको छ ।
पहडि क्षेत्रमा केही नदिका बेसीमा रहेका बस्तीहरु जोखिममा देखिन्छन् । तर त्यो जोखिम तराईका तुलनामा केही कम हो । पहाडि क्षेत्रमा मूख्यत पहिरोको जोखिम पनि रहेको छ । डाँडा तथा उच्च भूभागहरुमा बसोबास गर्ने स्थानहरुमा चट्याङको पनि जोखिम रहेको छ । त्यस बाहेक आगलागी पनि हो ।
आगलागी मौसम मात्रैका कारण भन्दा पनि मानवीय कारणले समेत हुन्छ । यो क्षेत्र र हरेक जिल्ला र हरेक टोलका फरक विपद्का सम्भावना रहेका छन् । साझा जोखिमलाई प्राथमिकिकरण गरेर हेर्ने हो भने तराईको लागि बाढी नै पहिलो विपद् हो ।
५. यसपटकको मनसुनमा विशेषगरि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा कत्तिको मानवीय र भौतिक क्षति हुने सम्भावना रहेको छ ?
यसको विषयमा गृह मन्त्रालयले सरदरमा अनुमान गरेको छ । यसमा करिब १८ लाख मानिसहरु प्रभावित हुन सक्ने अनुमान गरिएको अवस्था छ । बाँके जिल्लाको सन्दर्भमा भन्नुपर्दा यसपटकको मनसुनको अवधिभर १ लाख पचास हजार जनसंख्या बाढीबाट प्रभावित हुन सक्छ भन्ने अनुमान गरिएको छ ।
त्यो जनसंख्या भनेको १८ लाख भित्रै नै पर्छ । त्यो हिसाबले हेर्ने हो भने जोखिमयुक्त क्षेत्रमा बाँके जिल्ला पनि पर्दछ ।बाँकेमा मूख्यगरि पश्चिम राप्ती नदि,अन्य स साना खोला र नालाहरुबाट बग्ने पानीबाट जोखिम रहेको छ । यस्ता क्ष्ोत्रमा उल्लेख्य बस्ती भएका कारण समस्या हुने देखिन्छ । त्यस्तै जोखिम सरदरमा अन्य तराईं्रका जिल्लाहरुमा पनि रहेको छ ।
अन्य प्रदेश तथा जिल्लाहरुले पनि त्यस्ता जोखिमयुक्त क्षेत्रहरुको पहिचान गरेका अवस्था छ । तथ्यांक नै सार्वजनिक छ भएको छैन । तर हामी के आँकलन गर्न सक्छौँ भने जुन अनुपातमा बाँके जिल्लामा जोखिम छ । त्यो भन्दा केहि तल माथिको अनुपातमा प्राय सबै क्षेत्रमा जोखिम रहेको छ ।
६.अर्कातिर कार्यालयले दिने पूर्व सूचनामा आम नागरिकहरुको एउटा जिज्ञासा छ, कि त्यो कसरी पत्ता लगाइन्छ होला, कसरी मापन गरिन्छ, जानकारी गराइदिनुहोस न ?
अहिले हामीले तत्कालको वर्षा र बाढीको मापन गर्नको लागि दुई किसिमको उपकरणहरुको प्रयोग गछौँ ।एउटा म्यानुयल(परम्परागत)उपकरण भन्ने हुन्छ । त्यो मान्छेले भौतिक रुपमा सम्बन्धित स्थानमा उपस्थित भएर गरिने मापन हो ।
नदिहरुमा पनि हामीले मिटरहरु राखेका हुन्छौँ । त्यसमा कर्मचारी नै खटाइएको हुन्छ । उसले हेरेर जानकारी प्रदान गर्ने हो । यो हामीले अहिले पनि प्रयोग गरिरहेका छौँ । तर अहिले तत्कालै कर्णालीमा कति बहाव छ भन्ने कुरा चाँहि स्वचालित प्रविधिको प्रयोग हुन्छ । अहिले पछिल्लो समय विज्ञान र प्रविधिको प्रयोग व्यापक रुपमा गरिरहेको अवस्था छ । त्यो उपकरण भनेको सेन्सर हो ।
त्यसले प्रविधि मार्फत सूचनाहरु पठाउने काम गर्छ । त्यसलाई विभिन्न नामले भन्ने गरिन्छ । जस्तै राडार सेन्सर पनि हो । अहिले यस्ता सेन्सर डुडुवा नालामा जडान गरिएको अवस्था छ । मानखोलको पनि बेल गाउँमा जडान गरिएको अवस्था छ । पश्चिम राप्तीको कुुुसुममा पनि रहेको छ । कर्णाली चिसापानीमा रहेको छ । यसरी नै विभिन्न क्षेत्रमा सेन्सर राखिन्छ ।
७. अहिलेको मनसुन कहिलेसम्म क्रियाशिल रहन्छ के छ ?
मनसुन सामान्यतय तीन देखि चार महिना क्रियाशिल रहन्छ । मुख्य त जेष्ठ असार, साउन र भदौलाई मान्छौँ । कहिलेकाँही जेष्ठ महिनासम्म पनि रहन्छ । यो वर्ष यतिबेलासम्म रहला भन्ने चाँहि आंकलन गरिएको छैन । तर पनि अहिले पनि तीन महिना बाँकि नै रहेको छ ।
८. यस्तो विपद्को समयमा जिल्ला देखि वडा स्तरसम्म क्रियाशिल रहने विपद् व्यवस्थापन समितिहरुसँग यस कार्यलयले कसरी समन्वय र सहकार्य गर्दै आएको छ ?
प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला विपद् व्यवस्थापन समिति हुन्छ ।स्थानीय तहका प्रमुखहरु त्यो समितिको सदस्य रहन्छन् । त्यो समितिको मनसुन पूर्व तयारी बैठक दुई पटक बसिसकेको छ ।
मनसुन सुरु हुनुभन्दा अघि पनि बैठक बसेको थियो । त्यो बैठकमा हामीले कसरी सूचना प्रवाह गर्छौँ भनेर हाम्रो कार्यलयको तर्फबाट प्रिजेन्टेसन गरेको थिए । यस्तै अर्को बैठकमा यस्तो विपद्को समयमा कसरी समन्वय र सहकार्य गरेर अघि बढ्न सक्न सकिन्छ भनेर पनि व्यापक छलफल भयो ।
त्यसको लागि कोर गु्रप पनि बनाइएको छ । त्यसमा जिल्ला विपद् व्यवस्थापन समितिको मातहतमा आपतकालीन कार्य सञ्चालन केन्द्र छ । त्यसमा रेडक्रसको पनि सहभागिता रहेको छ । त्यो २४ घण्टे सेवा दिने उद्देश्यले सञ्चालन गरिएको हो । बाँकेमा पनि २४ सै घण्टा सबै तहका सुरक्षाकर्मी सहितको टोली खटिन्छ ।
डिओसीले हामीलाई सूचना दिन्छ । त्यो सूचना हामीले अन्यन्त्र प्रवाह गर्छौँ । हामीले पनि जिल्लालाई सूचना दिन्छौँ । त्यस मार्फत वडा स्तरसम्म पुग्छ । तर हामीसँग सम्पर्क गर्नको लागि हामीले सूचना दिने गरेका छौ ।
९. विपद्को समयमा पूर्व सूचना र जानकारी निकै महत्वपूर्ण मानिन्छ । तर पनि अहिले पनि उच्च जोखिममा रहेको समुदाय त्यो सूचनाको पहुँचमा छैन । त्यस्ता वर्गसम्म पुग्नको लागि त्यस्तो संयन्त्र छ र ?
अहिले जल तथा मौसम विज्ञान विभागले केही पनि पूर्व सूचना वा जानकारीबाट नछुटुन भन्ने अवस्था सिर्जना गर्ने भनेर संयन्त्र निर्माण गरेको छ । जोखिमयुक्त क्षेत्रमा सामान्यतया विपन्न नागरिकहरुको बसोबास रहेको देखिन्छ । आर्थिक तथा सामाजिक हिसाबमा रहेको समुदाय जोखिममा रहेको छ । अहिले पनि सूचना दिनको लागि प्रविधिको प्रयोग गरिरहेका छौँ ।
तर त्यो वर्गसम्म तपाईंले भन्नु भए जस्तै पुगिरहेको छैन । उहाँहरुको लागि उपयुक्त विधि भनेको एसएमेस सिस्टम भने प्रभावकारी देखिएको छ । हामीले पनि यस्तो प्रक्रिया अपनाउन जरुरी देखिएको छ । यस्तै टोल फ्रि नम्बरहरु समेत राख्नको लागि अनुरोध गर्न चाहन्छु ।
अन्त्यमा सम्पूर्ण नागरिकलाई विपद्को पूर्व सूचना लिन आग्रह गर्न चाहन्छु । यो पनि महत्वपूर्ण हो । विपद् जतिबेला पनि हुन सक्छ । त्यसैले हामी सधै पूर्वतयारीमा रहनुपर्छ । यसले विपद्बाट हुने मानवीय र भौतिक जोखिम कम गर्न मद्दत गर्छ ।