– भोजराज शर्मा
कोरोनाभाइरसका कारण स्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको सबैले सुनेका छौं । कहिलेकाहीं अचानक स्वास फेर्न गाह्रो भएको वा छाती भारी महसुस धेरैले गर्छौ ।
त्यतिखेर हामीलाई पनि कतै कोरोना संक्रमण त छैन भनेर शंका र डर उत्पन्न हुन्छ । यतिबेला कसैलाई भने अचानक गम्भीर रूपमा सास फेर्न जटिलता भई, असिनपसिन हुने, मुटुको धड्कन बढेर अहिल्यै मरें जस्तो हुन्छ ।
कोभिडको बेला यस अवस्थाले व्यक्ति, परिवार र टोल नै त्रसित हुने अवस्था आउँन सक्छ ।
तपाईंलाई थाह छ फोक्सोसम्बन्धी रोग खोकी, क्रोनिक ब्रोङ्काइटिस, न्युमोनिया ज्वरो, ब्लडप्रेसर, मुटुसम्बन्धी रोग, मधुमेह, वा अन्य शारीरिक समस्या पनि छैनन् तर अचानक यस्तो लक्षण देखा पर्छ भने त्यो
एक मानसिक समस्या एन्जाइटी डिसअर्डर, मनोत्रास(Panic Disorder) अन्तर्गतको समस्या प्यानिक अट्याक (Panic Attack) मात्र पनि हुनसक्छ ।
प्यानिक अट्याक एक मानसिक समस्या हो । यो एन्जाइटीको यौटा रूप वा अवस्था हो । रक्तचाप, मुटु वा फोक्सोसम्बन्धी कुनै शारीरिक समस्या पहिले छैन तर पनि संकेतविना नै यस्तो अट्याक आउन सक्छ ।
यतिखेर सास फेर्न अत्यन्त गाह्रो हुने (Shortness of Breath)हुन्छ । धड्कन बढेर छाती भारी हुने, पसिना आउने, बेचैनी हुने, ओठमुख सुक्ने, डर लाग्ने, कुनै अज्ञात खतरा आउन लागेको महसुस हुने वा मर्छु जस्तो हुन्छ ।
सामान्यतया यो केही मिनेट वा घण्टासम्म रहन सक्छ र बिस्तारै आफै शान्त हुन्छ । तर पहिलो पटक यस्तो अट्याक आएको व्यक्ति अति नै विचलित हुनसक्छ । झन् पटकपटक भएमा त्यस्तो व्यक्ति मानसिक रूपले अन्यौल भई समस्याग्रस्त भइरहन सक्छ ।
अर्को मुख्य समस्या भनेको त्यस्तो व्यक्ति हालको महामारीको अवस्थामा मलाई पक्का कोभिड संक्रमण भयो अब मरी नै हाल्छु भन्ने डर र भ्रममा अस्पताल गएर उल्टै संक्रमित हुन सक्छ ।
किन हुन्छ प्यानिक अट्याक ?
यो स्नायुरसायनको गडबडी(Neuro-Chemical Imbalance) का कारण हुने मानसिक समस्या हो । बैज्ञानिकहरू अझैसम्म यसको कारणसम्म पुग्न सकेका छैनन् ।
तर वंशाणुगत, हुर्काइमा समस्या, तनावपूर्ण वा जटिल बाल्यावस्था, परिवेश, दीर्घ रोग, लागु औषध, रक्सी, गाँजाको दुव्र्यसन, पारिवारिक दुर्घटना वा क्षति, लामो मानसिक थकान, भावनात्मक जटिलता आदिका कारण यस्तो हुनसक्ने अध्ययनहरूले बताएका छन् ।
मस्तिष्क रसायनमा असन्तुलन आई यसले शारीरिक रूपमै हृदयघात र श्वासप्रश्वासको समस्या दमजस्तो लक्षण देखाउने हुनाले यो जटिल लाग्दछ ।
प्यानिक अट्याक आयो भने के गर्ने ?
प्यानिक अट्याकले मरिँदैन । प्यानिक अट्याकमा डर र बेचैनी प्रमुख हुन्छ । फोक्सोसम्बन्धी रोग ब्रोङ्काइटिस, न्युमोनिया ज्वरो, ब्लडप्रेसर, मुटुसम्बन्धी रोग, मधुमेह, वा अन्य शारीरिक समस्या पनि छैनन् तर अचानक यस्तो लक्षण देखा पर्छ भने रोगीलाई खुला हावामा राख्नुपर्छ ।
चिसो पानीले मुख धुने, पानी खानुपर्छ । चिसो पानीले नुहाउँदा पनि आराम हुन्छ ।
तुरन्त ब्लड प्रेसर नाप्ने, ज्वरो नाप्ने र ती सामान्य भएको जानकारी दिँदा पनि मानसिक रूपले उसलाई बलियो बनाउँछ । परिवार, साथी वा सहारा भयो भने रोगीले अलिकति आराम महसुस गर्छ । मनोपरामर्शकर्ता वा साइकोथेरेपिस्ट उपलब्ध छन् भने मनोवैज्ञानिक प्राथमिक उपचार लिनुपर्छ ।
प्यानिक डिसअर्डरको उपचार ?
मानसिक समस्या केही होइन भन्ने सामाजिक मान्यता छ । तर त्यस्तो होइन । विभिन्न हार्मोनहरू र मस्तिष्कमा हुने न्युरोकेमिकल वा न्युरोट्रान्समिटरमा हुने असन्तुलनले मानसिक समस्या हुन्छ ।
यसको प्रभाव शरीरमा पनि देखिने भएकोले मानसिक समस्यालाई मनोशारीरिक समस्या भन्दा हुन्छ । शारीरिक समस्याजस्तै यो पनि एक समस्या नै हो जसको उपचार छ र निको हुन्छ ।
यसका लागि मनोपरामर्शकर्ता(Psychological Counselor), साइकोथेरेपिस्ट र मनोचिकित्सक(Psychiatrist) सबैको भूमिका हुन्छ ।
अवस्था र रोगको इतिहास हेरेर मनोचिकित्सकले छोटो र लामो समयको औषधी चलाउन सक्छन् । नियमित व्यायाम, सकारात्मक सोच, परामर्श, शुभकार्य, सिर्जनात्मक कामका साथसाथै नियमित परामर्श तथा औषधी सेवनले यो रोग निको हुन्छ ।
कोभिडकालमा अरूले प्यानिक नहुन के गर्ने ?
कोभिडबाट शरीरको रक्षा गर्ने एकमात्र सूत्र हो – चेन ब्रेकका लागि संक्रमितसँगको भौतिक दुरी । समयसमयमा साबुनपानीले हात धुनु, तातो पानी खानु, पोषिलो कुरा खानु ।
कसेसम्म अस्पताल जानु नपर्ने गरी दिनचर्या बनाउनु । मानसिक रूपमा आफूलाई सुरक्षित गर्न सामाजिक सञ्जालबाट दुरी बनाउनु, नकारात्मक समाचार र भिडियो नहेर्नु ।
सकारात्मक सोचका किताब पढ्नु, डकुमेन्ट्री, फिल्म आदि हेर्नु । सपरिवार दिनको एक घण्टा बिहान व्यायाम गर्ने र साँझको एक घण्टा नाच्ने । बिहान एकछिन ध्यान गर्ने । घरको सरसफाई र आफ्ना अधुरा काम गर्ने । सकारात्मक सोच र उमङ्गमा रहनु मानसिक र शारीरिक दुवै किसिमले स्वस्थ हुने उपाय हो ।
साभार- सामाजिक सञ्जाल