माघ २२, काठमाडौं – जनकपुरमा प्रहरी र नेकपा प्रचण्ड-नेपाल पक्षबीच भएको झडपमा दुई पूर्वमन्त्री घाइते भएका छन्।
पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घाइते भएका हुन्।
यसैगरी सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, कारी यादव, प्रदीप साह र प्रहरी जवान लालबाबु राई घाइते भएका छन्।
जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।
बजार गराउन जनकपुरधामको शिव चोक पुगेका नेता कार्यकर्ताहरूलाई प्रहरीले अवरोध सृजना गरेपछि झडप भएको थियो।
सोही क्रममा प्रहरीले गरेको लाठीचार्जबाट नेता झा र यादवसहितका नेता घाइते भएका हुन्।
उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै १ दर्जन राउन्ड हवाइ फायर समेत गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यता प्रहरीले दाहाल-नेपाल समूहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ।
दाहाल नेपाल समूहका कार्यकर्ताहरूले ना१क ५१२ नम्बरको प्रहरीको भ्यान र ज१च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन्।