माघ २१, काठमाण्डौँ- गत वर्षाको पहिरो, कटान र बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पीडितले आवास पुनर्निर्माणका लागि सरकारबाट रु पाँच लाखका दरले अनुदान पाउने भएका छन् । गृह मन्त्रालयअन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले हिमाली जिल्लाका बाढी पहिरो पीडितका लागि निजी आवास पुनर्निर्माणका लागि रु पाँच लाखका दरले अनुदान दिने व्यवस्थासहितको कार्यविधि पारित गरेको हो ।
प्राधिकरणले उपलब्ध गराउने अनुदान घरबास गुमेकाले मात्रै पाउनेछन् । गत बर्खामा म्याग्दीका ८१ वटा बस्तीका एक हजार ८६ घर प्रभावित भएका थिए । पहिराले भत्किएर पूर्ण क्षति भएका २४७ घर पुनर्निर्माण र जोखिमयुक्त ८२१ घर स्थानान्तरण गर्नुपर्ने तथ्याङ्क सङ्कलन भएको थियो । धवलागिरि गाउँपालिकाको १५ वटा बस्तीका २०९ घर, मालिकाको २२ वटा बस्तीका ३७५ घर, अन्नपूर्णका आठ वटा बस्तीका १३७ घर, मङ्गलाका ९ बस्तीका १००, रघुगङ्गाको १५ बस्तीका १६१ र बेनी नगरपालिकाको १२ बस्तीका ८६ घर पुनर्निर्माण र अन्यत्र सार्न सिफारिस गरिएको छ ।