सुनसरीमा युवतीमाथि सामूहिक बलात्कार

भदौ ३१,इटहरी- सुनसरी जिल्लाको पश्चिम दक्षिण हरिपुर–१ स्थित कोसी कटानमा गएराति एक युवती ट्रकभित्रै सामूहिक बलात्कारमा परेकी छिन् । सप्तरीको रुपनीबाट कोसी ब्यारेजतर्फ आउने क्रममा ट्रकमा चढेकी यादव थरकी युवतीलाई ट्रकका चालक, सहचालक र सहयोगीले कोसी कटान क्षेत्रमा ल्याएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सप्तरी बनिगामाकट्टि–४ का ३० वर्षीय राम यादव, १९ वर्षीय चन्दरदेव यादव र १८ वर्षीय सरोजकुमार यादवविरुद्ध मुद्दा दर्ता गरेको छ । युवतीलाई भने परिवारको जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक मसउद आमल खाँले जानकारी दिनुभयो । ट्रकभित्र सामूहिक बलात्कार भइरहेको अवस्थामा सशस्त्र प्रहरीको हरिपुर पोष्टले देखेर युवतीलाई उद्धार गर्नुका साथै तीनजनालाई राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको थियो । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि ट्रकभित्रैबाट हात हल्लाएर युवती चिच्याएपछि आफूहरूले ती युवतीको उद्धार गरेको सशस्त्रका प्रहरी नायब निरीक्षक नारायण सुवदीले जानकारी दिनुभयो । यसैगरी, सुनसरी मोरङ सिँचाइ आयोजनाको चतरा मूल नहरमा आज बिहान एकजना युवकको शव खनार नहर क्षेत्रमा फेला पारिएको छ ।      शव पानीमा तैरिरहेको सर्वसाधारणले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले स्थानीयवासीको सहयोगमा शव पानीबाट झिकेको थियो ।     अनुहारमा चोट लागेको अवस्थामा फेला परेको उक्त शवको सनाखत हुन सकेको छैन । कालो पेन्ट र सेतो कालो धर्के गन्जी लगाएको अन्दाजी ३५ वर्षको पहाडे मूलको युवकको भएको प्रहरी सहायक निरीक्षक किरण मोक्तानले बताउनुभयो ।     शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ