रत्नजित र सरालाई उपाधि

भाद्र ३०,काठमाडौ, – नेपाल आर्मी क्लबका रत्नजित तामाङ र सरादेवी  तामाङले चौथो पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्समा पहिलो हुँदै आइतबार उपाधि रक्षा गरेका छन् । पुरुष सिंगल्स फाइनलमा रत्नजित पहिलो संस्करणको विजेता आर्मीकै विकास श्रेष्ठलाई १६-२१, २१-१७ र २१-१८ ले पराजित गर्दै लगातार तेस्रोपटक च्याम्पियन बने। रत्नजित सराका भाइ हुन्। आर्मीका दीपेश धामी र नेपाल प्रहरी क्लबका विजित थापा तेस्रो भए।

 महिला सिंगल्सको उपाधि भिडन्तमा सराले आफ्नै बहिनी र क्लबकी नङसललाई २१-१५ र २१-१३ को सोझो सेटमा हराइन्। यससँगै सरा चारै संस्करणकी विजेतासमेत बनिन्। कास्कीकी पुनम गुरुङ र आर्मीकी अमिता गिरीले संयुक्त रूपमा तेस्रो स्थानमा चित्त बुझाए। गत तीन संस्करणको विजेता भएबापत सरालाई प्रतियोगिता आयोजक नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले पुरस्कारबापत स्कुटर प्रदान गर्‍यो।

पुरुष डबल्समा आर्मीका रत्नजित र राम राईको जोडी प्रहरीका विष्णु कटवाल र विजित थापामगरको जोडीलाई २१-१८, १८-२१ र २१-१८ ले पाखा लगाउँदै पहिलो भयो। सोही स्पर्धाको महिलामा आर्मीका सरा र नङसलको जोडीले कास्कीकी पुनम गुरुङ र एपीएफकी शिक्षा श्रेष्ठको जोडीलाई २१-१६, १६-२१ र २१-१६ ले फाइनलमा पाखा लगाएको कान्तिपुरमा खबर छ ।  यू-१९ पुरुष सिंगल्समा आर्मीका दीपेश धामीले आर्मीकै नवीन श्रेष्ठलाई २१-११ र २१-१५ ले पछ्याउँदै स्वर्ण जिते। महिलामा एपीएफकी शिक्षा श्रेष्ठ च्याम्पियन बनिन्। फाइनलमा शिक्षाले आर्मीकी जेसिका गुरुङको चुनौती २१-१३ र २१-१५ ले समाप्त पारिन्।

यू-१५ पुरुष सिंगल्सको फाइनलमा आर्मीका रुकेश महर्जनले ललितपुरका साइनिङ महर्जनलाई २३-२१ र २१-१९ ले निराश पारे। गल्र्समा आर्मीकी जेसिका गुरुङले आर्मीकै मेघा चन्दलाई २१-१३, १४-२१ र २१-१८ ले पराजित गर्दै स्वर्ण चुमिन्।

 भेट्रान्स डबल्सको ४५ वर्षमाथि धादिङका विष्णुलाल श्रेष्ठ र राजकुमार श्रेष्ठ तथा ५५ वर्षमाथि एपीएफका पुष्प ताम्राकार र महेश श्रेष्ठको जोडीले शीर्षस्थान हात पारे। तीनदिने प्रतियोगितामा १ सय ८१ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।