पुस १३, काठमाडौँ – यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो ।
माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले रेडपाण्डा नेटवर्कको सहकार्यमा यो काम गर्न लागेको हो । पालिकाले यस क्षेत्रमा हाब्रे व्यवस्थित गर्न उपयुक्त वातावरण बनाउन र आक्रमणबाट जोगाउन ठेक्का दिएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ ।
खनालका अनुसार हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने छ । “हामी रेडपाण्डालाई प्रभावित पार्ने रुखबिरुवा काट्दै छौँ”, प्रवक्ता खनालले भने, “स्थानीय प्रजातिका रुख बिरुवा रोप्ने छौँ ।” हेरालुका लागि व्यवस्थित गर्नैका लागि संरचना समेत गाउँपालिकाले बनाएको हो । गाउँपालिकाको केन्द्र देउरालीबाट ‘अल वेदर’ सडक लगिने गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्ममा यो काम सम्पन्न गरिने छ ।
उच्च पहाडी क्षेत्र भएकाले रेडपाण्डासँगै अन्य वस्तुको अवलोकनसमेत यस ठाउँमा हुनसक्ने अनुमान गाउँपालिकाको छ । यस क्षेत्रमा लेकाली वनस्पति र अन्य जीवजन्तुसमेत पाइने बताइएको छ । पर्यटकीय क्षेत्र छिन्टापु जाने बाटो भएकाले भावी दिनमा यस ठाउँमा जाने पर्यटकसमेत हाब्रे अनुगमनमा आउने अनुमान छ ।