पुस २, काठमाडौँ – वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मुख्य शहर क्षेत्र हेटौँडा बजार क्षेत्रमा पैदलयात्रुको सहजताका लागि बजारका विभिन्न स्थानमा सिमेन्टका कुर्ची व्यवस्थापन गरिएको छ । हेटौँडाका ठाउँठाउँमा पैदलयात्रुलाई बस्नका लागि विभिन्न बजारी क्षेत्रमा सिमेन्टका २५ वटा कुर्ची राखिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताए ।
सो कुर्चीको आर्थिक व्यवस्थापन हेटौँडा उपमहानगरपालिकाले गरेको छ । हेटौँडाको बुद्धचोकमा चार, सिमाचोकमा तीन, अजम्बरोडमा दुई, वासुकला चोकमा तीन, मानसचोकमा दुई, नगरपालिका रोडमा चार र मनकामना जाने बाटोमा छ वटा कुर्ची राखिएको छ ।
सिमेन्टका रङ्गिन कुर्ची राखिएपछि यात्रुलाई बस्नका लागि सजिलो भएको र यस क्षेत्र सुन्दरसमेत देखिएको छ । बस्नका लागि कुर्ची राखेपछि यात्रुसमेत खुशी भएका छन् । रासस