मंसिर १७, काठमाडौ – सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ । सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको छ ।
गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ । गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गरेका हुन् । गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा चार हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ३४ हजारले ‘लाइक’ गरेका छन् ।
कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ । गीतमा प्रयुक्त टुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ ।
कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ । दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् । आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् । मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन् । घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताए ।
“गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक सपुतले भने, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक÷श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।” गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गरेका हुन्।
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो । त्यसअघि उनका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे ।
गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ । सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त छन् । गायक सपुत चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिदै छन् । चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।