मंसिर १६, बाँके – बाँकेको कोहलपुर नगरपालिका–२ की गौरीदेवी शर्मा ५१ वर्षमा लागिन् । उनी ठेलामा फलफूल राखेर कोहलपुर वजारका विभिन्न गल्ली र चोकमा पुग्छिन । उनले फुटपातमा फलफूल बेचेर धेरै हिउद वर्षा विताइ सकिन । शर्माको एक मात्र जिविकोपार्जनको मुख्य स्रोत यहि रहेको बताइन ।
दुब्लो शरिर, गोरो वर्ण, हसिलो अनुहार । उनी अक्सर सारीमा सजिएकी हुन्छिन् । हरियाली मार्गको मुख्य सडक छेउ नजिकै भेटिन्छिन् । उनी दैनिक घरको गर्जो टार्न दिनरात मेहेनत गर्छिन् । यही काम गरेरै उनले आफ्ना चार सन्तानको लागि बाबाको भूमिका समेत निर्वाह गरिरहेकी छिन् । उनका १ छोरा र तीन छोरी हुन । छोरा वैदेशिक रोजगारीमा छन् । दुई छोरीको विवाह भइसक्यो । कान्छी छोरी आफुसंगै छन । अहिले उनी कान्छी छोरी र बुहारीहरुसँगै बस्दै आएकी छन्।
गौरीदेवीको परिवार दैलेखबाट बाँकेमा बसाइँ सरेको हो । उनीहरु दैलेखको बाहुन गाउँ भन्ने ठाउँबाट कामको सिलसिलामा तराई झरेका थिए । उनी भन्छिन्, ‘पछि हामी यही संघर्ष गर्न थाल्यौ। आफ्नो भन्नु केही पनि थिएन। यतै दुःख गरेर अहिले पनि बसिरहेका छौ।’
घरको आर्थिक अवस्था मजबुत थिएन । दैलेखमा हुँदा मध्यम खालको आयस्थिति भएका उनीहरु तराई झरेपनि काम गरेरै दैनिकी चलाउँथे। तराईमा बालबच्चा हुर्काउन र बढाउन दुईजनाले निकै कष्ट व्यवहोर्नु परेको उनी सुनाउँछिन् । पछि लामो समय फुटपातमा व्यापार गरेर घरजग्गा किनेको बताउँछिन् । सितादेवी भन्छिन्, ‘सानै उमेरमा विवाह भयो । जवानीमा एक्ली हुन प¥यो । बुढेसकालको साहारा यही व्यापार भएको छ । मैले श्रीमानको माया त लामो समय पाउन सकिन । केट्केटीको माया अपार पाएको छु।’ उनको १८ वर्षको कलिलो उमेरमा मागी विवाह भएको थियो ।
छोरीहरुले बुढेसकालमा काम नगर्न आग्रह गरिरहन्छन्। तर उनी केही समय यही व्यवसाय गर्ने सोचमा छिन्।
कुनै बेला साँझ विहानको खर्च टार्नको लागि फुटपातमा फलफूल बेच्ने काम सुरु गरेकी उनी अहिले भने खर्च गर्न सहज होला भनेर काम गर्छिन्। घरको अभिभावक र आफ्नो श्रीमान हराएपछि सुरु गरिएको यो कामले उनलाई धेरै खुसी दिएको छ। यही व्यवसाय गरेर उनले साहुको ऋण तिरिन्। जग्गा खरिद गरिन। घर बनाइन्। दुई छोरीको विवाह गरिन्। अहिले नातीनातिनीहरुलाई पढ्ने खर्च जुटाउँछिन्।
उनका अनुसार दिनमा सरदर २ हजारको बीचमा कमाइ हुन्छ। घरमा आवश्यक खर्च गरेर मासिक १० देखि १५ हजार नाफा हुन्छ। फुटपातमा धुलोमाटो सहेर उनले वार्षिक लाखौं कमाउँछिन्। स्वदेशमा बसेर रोजगारी पाइएन भन्नेहरुका लागि उनले राम्रो पाठ पढाएकी छिन्।
आफू एक्ली भएर पनि साहसका साथ जिन्दगी जिइरहेको वताउने उनीसंग अब दुई वटा लक्ष्य छन्। वर्षौंदेखि बेपत्ता अवस्थामा रहेका श्रीमानको न्यायको लागि लड्ने र कान्छी छोरीको आफ्नै हातबाट विवाह गरिदिने।
‘अब कति नै बाँचौला र ? सबै दुःख सुख भोगिसके। यति काम गर्न पाए हुन्थ्यो,’उनले आफ्ना कुरा सकाउँदै भनिन्। एकल महिला समेत रहेकी उनका श्रीमान १२ वर्ष अघि रोजगारीको लागि भारतमा गएपछि उतै बेपत्ता भए। अहिले सम्म मरेका छन् की जिउँदै छन् । केही अत्तोपत्तो छैन ।
२०६२ मंसिर १२ गतेदेखि उनका श्रीमान बेपत्ता अवस्थामा छन् । ती दिन सम्झिदाँ अहिले पनि गौरीदेवी शर्माका आँखा रसाउँछन्। गला अवरुद्ध हुन्छ। चम्किलो अनुहारमा एकाएक कालो वादल मडारिन्छ। एकातिर श्रीमानको खोजी, अर्कातिर बालबच्चा हुर्काउने जिम्मेवारी सबै पुरा गरिन्। सन्तानको खुसीको लागि उनले आफ्ना रहर मनभित्रै गुम्साएर राखेकी छन्। भौतिक शरीर रहुञ्जेल श्रीमानका विषयमा खाँटी कुरा थाहा पाउन पाए हुन्थ्यो भन्ने लागेको उनी वताउछिन । भन्छिन, ‘थाहा नपाइ प्राण जाने हो की?’