महामारीमा बालबालिकाको दैनिकी ‘घरमा फुर्सद छैन, विद्यालयमा पढाइ’

कात्तिक २०, जुम्ला – कालिकोटको खाडाचक्र नगरपालिकाकी सुनिता परियार विद्यार्थी हुन् । तर अचेल उनको दैनिकी गिट्टी कुटेर बित्छ । हरेक दिनजसो उनी गिट्टी कुटेर बिताउँछिन् । विद्यालय नखुलेका कारण फुर्सदमा गिट्टीको काम गरेको उनले बताइन् । उनका अनुसार यसबाट आएको पैसा घर खर्चका साथै पढाईमा खर्च हुने वताइन । उनले दैनिक चार बोराभन्दा बढी गिट्टी कुट्र गरेको आम्दानी वाट कापी, कलम र अन्य व्यक्तिगत खर्च गर्ने गरेको बताइन् ।

उनको परिवार आर्थिक रुपमा विपन्न छ । लामो समयको कोरोना महामारीका कारण उनको परिवार चल्न निकै धौधौ भएको छ । उनका आमा र बुबा पनि गिट्टी कुट्ने काम गर्छन् । उनी मात्रै होइन उनका साथीहरु समेत गिट्टी कुट्ने काम गर्छन् । यस्तै जुम्लाको चन्दननाथ नगरपालिकास्थित बोहोरागाउँकी रञ्जना नेपालीलाई पनि घरमा फुर्सदै छैन । विद्यालयमा पढाइ समेत नहुने भएकोले उनले घरको सम्पूर्ण खर्च धान्नु परेको छ । नेपाली दैनिक घाँस दाउरा र मेलापात समेत गर्छिन् । गाउँ नजिकैको रत्नचुडेश्वर माविमा कक्षा ६ मा अध्ययन गर्ने उनी ९ महिनायता विद्यालय गएकी छैनन । उनले विद्यालयको दैलो समेत देख्न नपाएको एक वर्ष पुग्न लाग्यो । विद्यालय बन्द भएपनि दैनिक जसो घरायसी काममा नै व्यस्त हुने उनको भनाइ छ । असोज दोस्रो साता उनीसँग भेट हुदाँ जंगलबाट आइरहेकी थिइन् । उक्त अवसरमा कुराकानी गर्दै उनले आफू रहरले नभई बाध्यताले जोखिमपूर्ण काममा लाग्नु परेको बताइन् । उनका अनुसार विद्यालय सञ्चालन नहुने भएपनि दैनिक जसो यस्तै काम गरिरहनुपर्छ । विद्यालय बन्द भएदेखि एकदिन पनि राम्रो सँग किताब,कापीसँग उनको भेट समेत भएको छैन । ‘दिनभरी काम गर्नुपर्छ , निकै थकाई लाग्छ’ उनले भनिन्, ‘पढ्नै पाइदैन । खाना खाएर सबेरै सुतिजान्छु । न पढाई हुन्छ न हामीलाई फुर्सद छ ।’ यतिमात्रै कहाँ हो र ? घर की जेठी छोरी भएको उनको जिम्मेवारी साँझ विहान, खानापानी गर्ने, गोठाला जाने र दुई वर्षको भाईको रेखदेख गर्ने समेत छन् । उनीहरु प्रतिनिधि पात्र मात्रै हुन् । कर्णालीको कुल १७ लाख जनसंख्याको आधा भाग ओगटेका बालबालिकाहरु विद्यालय नखुल्दा जोखिमपूर्ण काममा लाग्न बाध्य छन् । कर्णालीका उच्च हिमाली जिल्लामा कोरोना कहर नहुँदो होत यतिवेला वार्षिक परिक्षाको तयारी भइरहेको  हुन्थ्यो ।

देशका अन्य क्षेत्रमा चैत्रमा शैक्षिक सत्र शुरु हुने भएपनि कर्णालीका केही जिल्लामा फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुन्छ । ती केही जिल्लामा त दुईपटक शैक्षिक सत्र सुरु हुन्छ । विगत चैत्र ११ गते यता भने कर्णाली मात्रै होइन सिंगो देशभरका लाखौ स्कुले बालबालिकाले विद्यालय जान पाएका छैनन् । विश्वभर झै नेपालमा पनि कोरोना कहर सुरु भएयता विद्यालय बन्द अवस्थामा रहेका कारण बालबालिकाको लागि विद्यालय नै बिरानो भएको हो । कतिपय अभिभावक कोरोनाका कारण बालबालिकाले विद्यालय र अध्ययन नै बिर्सिन थालेको बताउँछन् । कर्णालीका उच्च हिमाली भेगका अधिकांश बालबालिकाको दैनिकी फुर्सद मै बित्ने गरेको छ । शिक्षक महेश नेपाली विद्यालय नखुल्दा बालबालिका फुर्सदिला हुनु र जोखिमपूर्ण काममा लाग्नु अभिभावकको नभइ देशको शैक्षिक प्रणालीको दोष रहेको बताउँछन् । तथ्यांक अनुसार नेपालमा कक्षा १ देखि ८ सम्म सरकारी तर्फ ४१ लाख निजी तर्फ १३ लाख ५० हजार, कक्षा ९–१० मा सरकारी तर्फ ८ लाख र निजी तर्फ २ लाख र कक्षा ११–१२ मा सरकारी तर्फ ३ लाख ५० हजार र निजी तर्फ ८० हजार विद्यार्थी लकडाउनका कारण विद्यालय जान पाएका छैनन् । यस्तै विभिन्न विश्व विद्यालय तर्फ करिब ५ लाख बढि विद्यार्थी समेत कोरोनाको मारका कारण नियमित विद्यालय जान पाएका छैनन् ।