बङ्गलादेशमा थप एक हजार ७०० कोभिड–१९ सङ्क्रमित, २४ घण्टामा ४३ को मृत्यु

भदौ ३०, काठमाडौ – विगत २४ घण्टामा थप एक हजार ७२४ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने उक्त अवधिमा थप ४३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार बङ्गलादेशमा मङ्गलबारसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ४१ हजार ५६ पुगेको छ भने चार हजार ८०२ जनाको मृत्यु भएको छ ।

सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशभरि विगत २४ घण्टामा १४ हजार ५० नमूनामा कोरोना परीक्षण गरिएको छ ।

निर्देशनालयका अनुसार देशभर कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या विगत २४ घण्टामा दुई हजार २३९ रहेको छ भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या दुई लाख ४५ हजार ५९४ रहेको छ ।

बङगलादेशमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७२.०१ प्रतिशत पुगेको छ भने सङ्क्रमितमध्ये १।४१ प्रतिशत विरामीको मृत्यु भएको छ ।

बङ्गलादेशमा जुलाई २ मा सबभन्दा बढी दैनिक चार हजार १९ व्यक्ति सङ्क्रमित भएका थिए भने जुन ३० मा सबैभन्दा बढी ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ ।  रासस/सिन्ह्वा
–––