भदौ १७, धनुषा- धनुषा जिल्लाको जनकपुरधाममा एकै पटक चार सन्तान जन्मिएका छन् ।
धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार जना शिशुलाई जन्म दिएकी हुन् ।
प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन् ।
उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन् ।
अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती शिशुमा तीन छोरी र एक छोरा छन् ।
शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ । चम्ल्याहा बच्चाको जन्म दिएकी अरमानाको अवस्था भने गम्भीर रहेको छ ।