भदौ ३, काठमाण्डौँ – गएराति अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । शव भटिएका मध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सनाखत भएकामा रामारोसन गाउँपालिका–५ बस्ने वर्ष १५ को रोसन साउद, सोही वडा बस्ने वर्ष ३३ की गौरी शाह र वर्ष ४८ का चन्द्र साउद रहेका छन् । शव भेटिएका अन्य तीन जनाको सनाखत हुँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बगेर बेपत्ता भएकाको खोजी कार्यका लागि आज दिउँसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलीकप्टर परिचालन भएको छ । गएराति कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पशल सहित १७ जना बगाएको थियो । खोलामा अहिले सम्म पनि ठूलो बाढी भएका कारण खोजी कार्यमा निकै समस्या हुँदै आएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । रासस