असार ३०, काठमाडौ – मेलम्ची बाह्रबिसे नगरपालिकाका बाढी पहिरो पीडित ७३ घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ । बाढीपीडित ७३ परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको हो । जम्बुका ३४ परिवार तथा खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न वितरण गरिएको काँग्रेसका स्थानीय नेता युधिर पौडेललले जानकारी दिए ।
बाढीपीडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो । काँग्रेसले बाढीपहिरोमा परी आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद राहत दिएको छ । काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे–५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार सात हजारको दरले नगद वितरण गरेका थिए । उनीहरूले बाढीबाट पीडित २७ परिवारलाई प्रतिपरिवार दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरेका थिए।