असार २२, काठमाडौ – पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । सोही गाउँपालिका–१ निवासी मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो ।
गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उनले कक्षा एक र दुईका लागि ‘कानूङ ढूट्झ्युल–सोमरा कट्छया’ नामक मगर भाषा पुस्तक प्रकाशन गरिसकेका छन् । नयाँ पुस्ताले मगर भाषा सजिलैसँग बोल्न–लेख्न सकुन् र भाषा लोप हुनबाट जोगाउने उद्देश्यले पुस्तक तयार गरेको लेखकले बताए । पुस्तकले आफ्नो संस्कृति र परम्परागत प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्न सजिलो हुने उनको भनाइ छ ।
चौकुने गाउँपालिका मगर समुदायको अत्यधिक बसोबास हुने क्षेत्रमध्येमा पर्दछ । गाउँपालिकाका उपाध्यक्ष निर्मला रानामगरले मगर भाषाको पाठ्यपुस्तक निर्माणका लागि बर्सेनि बजेट विनियोजन गर्ने गरेको बताइन् । “मगर भाषाको पाठ्यपुस्तकले स्थानीय मगरभाषीको उत्थानमा महत्वपूर्ण योगदान मिल्नेछ”, पुस्तक विमोचन गर्दै उपाध्यक्ष रानाले बताइन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले आधारभूत तहको शिक्षा मातृभाषामा दिई दोस्रो भाषी विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन पाठ्यपुस्तकले सहयोग पु¥याउने अपेक्षा गरे ।