भदौ ९, काठमाडौँ – राष्ट्रिय विभूति युवक कवि मोतीराम भट्टको १४९औं जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण औंसीका दिनमा जन्मेका मोतीरामको विसं १९५३ भाद्र कृष्ण औंसीकै दिनमा अल्पायुमै निधन भएको थियो । नेपाली साहित्यको श्रीवृद्धिमा युवाकवि मोतीरामको योगदान महत्वपूर्ण रहेको छ । आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका मोतीरामले नेपालमा छापाखानासमेत भित्र्याएका थिए । नेपाली साहित्यमा शृङ्गार रसलाई उपयोग गरी साहित्यिक रचनामा योगदान पुर्याएका मोतीरामले नेपाली गजल साहित्यको श्रीवृद्धिमा समेत विशेष भूमिका खेलेका थिए । मोतीरामका गजल र ‘पिकदूत’ अनुवाद ग्रन्थ विशेष उल्लेखनीय साहित्यिक कृतिका रुपमा छन् ।