प्रहरी सुरक्षामा अन्तरजातीय विवाह

९ भदौ, बिराटनगर –  विराटनगर ५ का २४ वर्षीय सुमन मगराती र सोही ठाउँकी २० वर्षीय उर्मिला खतिवडाबीचको सम्बन्धलाई लिएर तनाव उत्पन्न भएपछि प्रहरी सुरक्षामा आइतबार उनीहरुको अन्तरजातीय विवाह गरिएको छ ।   प्रहरी सुरक्षामा विभिन्न अधिकारसँग सम्बद्ध संघसंस्था, सञ्चारकर्मी, राजनीतिकर्मी र सामाजिक अगुवाहरुको रोहवरमा उनीहरुको विवाह गरिएको हो ।

विवाहमा सुमनका आफन्त सबै थिए भने उर्मिलाका माइती पक्षका कोही पनि सहभागी थिएनन् ।   विवाहको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यलय मोरङले प्रहरी निरीक्षक ढुण्डिराज न्यौपानेको नेतृत्वमा प्रहरी परिचालन गरेको थियो ।

आइतबार सुमनको घरमा आयोजना गरिएको विवाह समारोहमा सुमन र उर्मिला एक अर्कालाई माला लगाएर संगै जिउने बाचा गरे ।  विवाह समारोहमा सभासद् अमनलाल मोदी, दलित अधिकारकर्मी उमेश विश्वकर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, राजनीतिकर्मी र विभिन्न क्षेत्रका अगुवालगायतको सहभागीता थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।