वैशाख १९, काठमाडौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका कारण श्रमिक वर्गको अवस्था अत्यन्तै नाजुक बनेको, धेरैको रोजगारी गुमेको र तलब सुविधा कटौती भएकाले सरकारी नीति तथा योजना बनाउँदा त्यसतर्फ विशेष ध्यान जान जरुरी रहेको बताएका छन । अन्तरराष्ट्रिय श्रमिक दिवस–२०७७ (मे दिवस )का अवसरमा सम्पूर्ण मजदूर वर्गलाई शुभकामना सन्देश दिँदै उनले विशेषगरी दैनिक ज्याला मजदूरी गरी खाने श्रमिकलाई स्थानीय तहमार्फत राहत वितरणको व्यवस्था मिलाइएको बताए।
पछिल्लो लकडाउन अवधिमा कोरोना भाइरसको संक्रमणबाट बच्न सतर्कता र सचेतना अपनाई अधूरा निर्माण तथा अत्यावश्यक वस्तु उद्योगलाई पुनः सञ्चालन गर्ने नीति लिइएको बताउँदै श्रम र श्रमिकप्रति सम्मान गर्दै श्रमिकहरुलाई मर्यादित जीवन प्रदान र उनीहरुको पूर्ण क्षमताको सदुपयोग गर्न–गराउन आजको दिनले सबैमा प्रेरणा प्रदान गर्न सक्ने विश्वास व्यक्त गरे।