बैशाख ९, काठमाडौं – नेपालका कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबारमात्रै थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निकालेको बिज्ञप्ती अनुसार मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
थप संक्रमित ११ जनामा १८, १८, २०, ३३, ४०, ४१, ५२, र ५८ वर्षीय पुरुष तथा ३६ वर्षीया महिला र एक जना उमेर नखुलेकी महिला रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ। संक्रमण पुष्टि भएकामध्ये ४ जना निको भएर घर फर्किइसकेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।