प्रसान्त कुमार वि.क.
काठमाडौ – भारतीय संविधानका आर्किटेक्ट, स्वतन्त्र भारतको पहिलो कानून मन्त्री तथा भारत रत्नले सम्मानित डा. भिमराव रामजी अम्बेडकर (सन् १८९१–१९५६) लाई मानीसहरु सम्मान स्वरुप बाबासाहेब भन्छन् । आज उनै बाबासाहेबको १२९ औं जन्म जयन्ती भारतभरी हर्षोउल्लासका साथ मनाईदै छ । जन्म जयन्ती मनाउने क्रममा, एकजना भारतीय राजनीतिज्ञ असुद्विन ओवेसीले यति सम्म भने की “हिन्दुस्तानमा यदि कोही सबै भन्दा ठूलो लिडर हो भने त्यो गान्धी होइनन्, बाबासाहेब अम्बेडकर हुन ।” यसबाट उनको कद कति ठूलो छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
नेपालमा पनि केहि दलित वौद्विक वर्गले उनी प्रति श्रदासुमन अपर्ण गरेका छन् । उनलाई सम्झनुका पछाडी एउटा ठूलो सिंगो इतिहास छ । त्यो हो दलित आन्दोलन र संर्घषको इतिहास । सामाजिक न्यायका प्रतिमूर्ति डा. अम्बेडकरले समाजको तल्लो तप्कामा रहेका, पछाडी पारिएका ‘दलित’ वर्गको पक्षमा धेरै सामाजिक आन्दोलनको अगुवाई गरेका थिए । ‘द एक्ससाइज अफ फ्रिडमः एन इन्ट्रोडक्सन टु दलित राइटिङ’ नामक पुस्तकमा उनले महाराष्ट्रको माहादमा भएको चाभादर तालको पानी दलितले पनि प्रयोग गर्न पाउनु पर्दछ भनी आन्दोलनको नेतृत्व गरेको र डिसेम्बर २५, १९२७ मा उनी र उनका अनुयायीहरुले मनुस्मृतिका पानाहरु जलाई दिएको कुरा उल्लेख छ । दलित समुदाय प्रति गरिएको संरचनागत विभेद र शोषण विरुद्वको आन्दोलनको यो झिल्को अहिले सम्म पनि निभेको छैन । भारतमा मात्र होइन, नेपालमा पनि विभिन्न कालखण्डमा यस्ता छिटफुट सामाजिक तथा राजनैतिक आन्दोलनहरु नभएका होइनन् तर त्यसले गति नपाएको भने पक्कै हो । त्यसका वाबजुद पनि केहि हद सम्म समावेशी चरित्रको राज्यव्यवस्थाको अवलम्बन गरिएको छ । खैर, त्यसका आफ्नै जटिलताहरु भने छदै छन् । भारतमा दलितका हक, अधिकारलाई संवैधानिकरुपमा नै सँस्थागत गरिदिएका डा. अम्बेडकरले बारम्बार भनेक थिए, “जब सम्म सामाजिक स्वतन्त्रता प्राप्त हुदैन, तब सम्म कानून प्रद्वत स्वतन्त्रताको कुनै अर्थ हुदैन ।” उनले भने जस्तै नेपालमा अहिले पनि कानूनत प्राप्त अधिकारको उपभोग गर्ने क्रममा व्यावहारीक जटिलताहरु देखिएका छन् । डा. अम्बेडकरले आफ्नो आत्मवृतान्त “वेटिङ् फर अ भिसा” मा भारतको बरोदा भन्ने ठाउँमा आफ्ना समकक्षी हिन्दु साथीहरुले कहिल्यै पनि उनीहरुको निजी घरमा स्वागत नगरेको र आफूले काम पाएको तर बस्नका लागि ठाउँ नपाएको अनुभव उल्लेख गरेका छन् । यस्तो खालको तितो परिस्थतिको सामना त अहिले पनि नेपालमा दलित विद्यार्थी देखि सांसद सम्मले गर्दै आएका छन् ।
आर्ट स्पाइगेलम्यानको ग्राफिक नोभेल ‘माउस’ मा बच्चाले आफ्नो बुवासँग दुखेसो पोख्छ, मेरा साथीहरुले मलाई पछाडी छोडे । अनि बुवाले, ‘तिम्रा साथीहरु’? भनेर प्रश्न गर्छन । यो प्रश्नले अहिले सम्मको आपसी सम्बन्ध तथा विश्वासलाई नै धरासायी बनाउँछ । हुन पनि हो, दौडने क्रममा पछारिदा, उठन् मद्दत नगर्ने कसरी ‘साथी’ हुन्छ? हो, अहिले हामी काँहा पनि देखिएको समस्या यहि हो । आर्दशरुपमा भन्नुपर्दा, राज्य एउटा परिवार जस्तै हो । परिवारका सदस्यहरु मध्ये कोही कमजोर हुँदा उसलाई साथ र सहयोगको खाँचो पर्दछ । त्यसैगरी, कुनै पनि कारणले पछाडी परेको वर्ग वा समुदायलाई उकास्नु, राज्यको दायित्व हो । यसो गर्दा, सामाजिक सामञ्जस्यता कायम गर्न मद्दत पुग्दछ । ‘यो देश मेरो पनि हो’ भन्ने भावना जाग्दछ ।
दूर दृष्टि भएका डा. अम्बेडकरले भनेका पनि थिए की “वि आर इन्डियन फस्टली एण्ड लास्टली” हो, नेपालमा पनि दलित पहिला ‘नेपाली’ नै हुन । त्यसैले, दलितहरुको प्रगति र उन्नती सँगै यो देशको विकास पनि जोडिएको छ । उनीहरुको अर्थपूर्ण सहभागितका लागि अझ धेरै कामहरु गर्न बाँकी नै छन् । एउटै वर्ग वा समुदायको कथाहरुले निम्त्याउने खतरा प्रति सजग हुन आवश्यक छ । नेपालका दलितहरुको मुक्तीको सवाल “नसकिएको सवाल” हो भनेर बुझन पनि जरुरी छ । नेपालको इतिहासलाई दलितहरुबाट अलग्याएर हेर्दा अन्याय हुन्छ । यसै सन्दर्भमा सामाजिक र राजनैतिकरुपमा विभाजित नेपालका दलितहरुलाई एउटै मञ्चमा ल्याउने र दलित आन्दोलनलाई डोर्याएर अगाडी लैजाने अम्बेडकर जस्तै कुशल नेतृत्वको आवश्यक छ ।