दामोदर रेग्मी
काठमाडौ – जनशक्ति व्यवस्थापन सार्वजनिक प्रशासनको महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । यसलाई मानवशक्ति, श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने संवेदनालेयुक्त महत्वपूर्ण श्रोत हो । यसैले मानव श्रोत स्वतन्त्र चर हो भने अन्य साधन श्रोतहरु मानव श्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चरहरु हुन् । यसर्थ मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा चिनिने गरेको हो । मानव संसाधन व्यवस्थापनको अवधारणाले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पु¥याउंछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना , प्राप्ति , उपयोग , विकास , सामयिक संभार , एकाकार, अवकाश ,अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । मानव श्रोत व्यवस्थापन यी सवै कार्यहरुको श्रृंखलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापहरुको संयुक्त स्वरुप हो ।
जनशक्तिलाई रणनीतिक साधनको रुपमा लिई मानव संसाधन संग सम्बन्धित सवै कार्यहरुवीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा अत्यधिक प्रयोगमा आउने प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएको मा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुदै आईरहेको छ ।मानव सभ्यता र समयको विकासक्रम संगै मानव संसाधन व्यवस्थापनको अवधारणामा पनि सामयिक परिवर्तनहरु भएका छन् र यो परिवर्तनले प्रारम्भका दिनमा मानवलाई साधनको रुपमा लिईएको र पछि क्रमशः मानवलाई पूजीको रुपमा लिने चलन वढी मानवीय संवेदनात्मक पक्ष र उत्प्रेरणामा जोड दिने गरेको पाईन्छ । मानव संसाधन व्यवस्थापनमा भएको यो विकासले मानव संसाधनको रणनीतिक व्यवस्थापनमा जोड दिएको छ । रणनीतिक व्यवस्थापनले मानव संसाधन व्यवस्थापनका सवै चरणहरुमा सवल, कमजोर, अवसर र चुनौतीका पक्षहरुवीच सामन्जस्यताको माग गर्दछ ।
मानव संसाधनको रणनीतिक व्यवस्थापनको पक्ष प्रतिभा व्यवस्थापनको रुपमा पनि चिनिने गर्दछ । प्रतिभा व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूजीको रुपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई सांगठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ ।साधारण अर्थमा प्रतिभा व्यवस्थापन संगठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग हो ।प्रतिभा व्यवस्थापनको यो बुझाईले संगठनमा प्राप्त भैसकेका जनशक्तिको उपयोग नै प्रतिभा व्यवस्थापन हो भन्ने मात्र अर्थ लाग्न सक्दछ तर प्रतिभा व्यवस्थापन मानवश्रोत व्यवस्थापनको समग्र चक्र संग सम्बन्ध राख्ने विषय हो ।मानव संसाधन व्यवस्थापन नियुक्ति पूर्व र अवकाश पश्चातका विषय संग सम्बन्धित छ भने प्रतिभा व्यवस्थापन यसको अतिरिक्त क्षमतावान जनशक्तिको प्राप्ति, विकास, प्रयोग र संगठनमा टिकाइराख्ने विषय समेत संग सम्बन्धित छ ।
संगठनमा उपलब्ध सवै जनशक्ति संगठनका पंूजी तथा अमूल्य निधी हुन। तथापि केही जनशक्ति को क्षमता संगठनमा अन्य जनशक्तिको क्षमता भन्दा निकै वढी हुन्छ र यिनीहरु संगठनको दैनिक कार्यलाई व्यवस्थित गर्न अपेक्षित परिणाम निकाल्न र संगठनको साख अभिवृध्दि गर्न प्रखर सावित भएका हुन्छन् । यसर्थ यिनीहरुलाई समूहगत कार्य, टोलीगत कार्य, विशेष भूमिका, समन्वयकारी भूमिका आदि व्दारा उनीहरुको क्षमताको अधिक भन्दा अधिक रुपमा प्रयोग गर्न सकिन्छ ।साथसाथै अन्य तुलनात्मक रुपमा मध्यम वा निम्न क्षमताका कर्मचारीहरुलाई तालिम जस्ता अन्य उपागम व्दारा उनीहरुको क्षमतालाई सामयिक रुपमा तिखारी राख्नुपर्ने हुन्छ ।साथै संगठनमा उर्जाशील, उत्पादनशील र सिर्जनशील जनशक्ति को अन्यत्र पलायनलाई पनि रोक्नु पर्ने हुन्छ ।
जनशक्ति व्यवस्थापन संगठनको आयाम (उत्प्रेरणाव्दारा उत्पादकत्व अभिवृध्दि) , कर्मचारीको आयाम ( असल कार्यवातावरण ) र सेवाग्राही सन्तुष्टिको आयाम जस्ता विषयहरुको कुशल संयोजन पनि हो । मानव शक्तिलाई मानव पूँजीमा परिणत गर्न शुरुमा त्यसमा लगानी गर्ने र त्यसवाट अधिकतम प्रतिफल लिन तयार पारिने रणनीति र सो रणनीतिको कार्यान्वयन अर्को सामयिक विषय हो । यी यावत विषयहरु जनशक्ति व्यवस्थापनका नवीनतम सामयिक पक्षहरु हुन् ।