माहामारी पश्चातको परिवर्तित संसार– एउटा इतिहासकारको नजरमा

 

लुलु गारसीया–नाभाररोः त्यसो भए २०२० को माहामारी पश्चात संसार कस्तो देखिने छ? हामीले हाम्रो काम गर्ने, बाँच्ने, अनि कुरा गर्ने तरिकाहरुमा पनि परिवर्तन गरिरहेका छौ । र यस्तो संकटको बेला हामी हाम्रो सरकारबाट के आशा गरिरहेका छौ । हामी सँग हुनुहुन्छ, लेखक, इतिहासकार, दार्शनीक युभाल नोहा हरारी – उहाँकै जेरुसलेम नजिकैको घरबाट केहि विचारहरु राख्दै ।

कार्यक्रममा स्वागत छ ।
युभाल नोहा हरारीः नमस्कार, यहाँ हुन पाउनु खुसीको कुरा हो ।

गारसीया–नाभाररोः तपाईले भन्नु भयो की यो महामारीको अवधिमा, हामी अहिले एउटा ठूलो सामाजिक प्रयोगमा संलग्न छौ । मलाई भन्नुहोस् यसको अर्थ के हो?

हरारीः अँ, यहाँ जता ततै प्रयोग नै प्रयोग छन् । जस्तो की, मेरो विश्व विद्यालयले भर्खर सबै विषयहरुलाई अनलाइनमा लगेको छ जुन चाही वर्षो देखि सोचिएको थियो तर केहि गरिएको थिएन् । र अब, हामी सँग यो ठूलो प्रयोग छ । के हुन्छ, जब तपाई एउटा सम्पूर्ण विश्व विद्यालयलाई अनलाइन प्रणालीमा लैजानु हुन्छ? त्यसैगरी, जस्तो की तपाईलाई थाहा छ, वर्षो देखि विश्वव्यापी आधारभूत आयस्रोतको कुरा हुदै आएको छ । र अहिले अमेरिकी सरकार यो गर्न गईरहेको छ । के हुन्छ, जब लाखौ मानिसहरु कार्यालय वा कलकारखानामा धाउनुको सट्टा घरबाटै काम गर्न शुरु गर्नेछन? तसर्थ, यी सबै आधारभूतरुपमा एउटा वृहत स्तरमा सामाजिक प्रयोगहरु हुन जसले संसारलाई परिवर्तन गर्नेछ । हामी के हुन्छ भन्ने बारेमा भविष्यवाणी गर्न सक्दैनौ किनभने मूलरुपमा हामी सँग धेरै विकल्पहरु विद्यमान छन् । यस्तो होइन की यो माहामारीको हामी सँग एउटा मात्र पूर्वनिर्धारित परिणाम होस ।

गारसीया–नाभाररोः मेरो अर्थ हो, हामीले समाजमा व्यापक चीरा (मतभेद) हरु देखेका छौ जसको बारेमा हामीलाई पहिल्यै थाहा थियो तर अहिले यो बाहिर छरपष्ट भएको छ । तथाकथीत यो आधुनिक अर्थव्यवस्थामा, एक प्रकारको हुने खानेहरु र हुँदा खानेहरु, ती कामदारहरु जसको कुनै संरक्षण छैन, महामारीबाट ध्वस्त भएका छन् ।

हरारीः हो, मलाई लाग्छ, फेरि पनि यो संकटले संगठित श्रमलाई पूर्णरुपमा ध्वस्त पार्न सक्छ । अथवा, हामी यो प्रवृतिलाई पुनरावृत गर्न सक्छौ । र मानीसहरु सामाजिक सुरक्षा प्रणाली अथवा सरकारद्वारा प्रायोजीत स्वस्थ्य प्रणालीको महत्वका बारेमा महशुस गर्न सक्छन् । यो जुनसुकै तरिकाले पनि जान सक्छ । मानीसहरुले बुझनु पर्ने महत्वपूर्ण कुरा यो छ की हामीहरु सँग धेरै विकल्पहरु छन् । र आउँदो एक वा दुई महिनामा धेरै महत्वपूर्ण निर्णहरु लिईदै छ । इतिहास तीव्ररुपमा अगाडी बढीरहेको समयमा यो अवशरको एउटा सानो झयाल हो । सरकारहरु नयाँ विचारहरुको प्रयोग गर्नका लागि इच्छुक छन् जुन चाँही पहिला सोच्दा पनि पागल जस्तै लाग्थ्यो । र एकपटक यो सकिए पछि, एक प्रकारको लयले फेरी गति पाउने छ ।

तपाईलाई थाहा छ, २०२१ मा जो राष्ट्रपति भए पनि आधारभूतरुपमा पार्टिको कुरा गर्दा पार्टि सकिएको हुनेछ । र त्यसपछि एउटा काम मात्र बाँकी रहने छ, त्यो हो भाँडा माझने । र आउँदा केहि महिनाहरु, तपाईलाई थाहाँ छ, सरकारले अरबौ रुपैया त्यतीकै बाँडने छ । यसर्थ, यो बुझन ज्यादै जरुरी छ की हाम्रा छनौटहरु केही सीमित स्वास्थ्यका सवालहरु वा न्यूर्योक शहरमा कति धेरै नयाँ घटनाहरु वा भेन्टीलेटरहरुको खाँचो छ भन्ने कुरामा केन्द्रित छन् । तर राजनैतिक स्तरमा ध्यान केन्द्रीत गर्दा, हामीले सामना गर्नुपर्ने छनौटहरुमा के महत्वपूर्ण छ र कसले स्रोतहरु प्राप्त गर्दछ भन्ने कुरा अन्ततः, राजनैतिक नै हुन ।

गारसीया–नाभाररोः मेरो मतलब, यूकेको फाइननसीय टाइम्सको सम्पादकीय चाखलाग्दो छ जुन चाँही एउटा कन्जरभेटिभ प्रकाशन हो । यसले क्रान्तिकारी सुधारका कुराहरु आवहन गरेको छ । सरकारहरु झन धेरै सक्रिय भएका छन, सार्वजनिक सेवालाई पनि लगानीका रुपमा हेरेको छ नकि दायित्वको रुपमा, सम्पत्तिको पूर्नवितरण, आधारभूत आय–जस्तो की तपाईलले समपत्तिकरमा उल्लेख गर्नु भएको छ । यसले महामारीलाई लिएको छ । तर, यसले तपाईलाई के भन्छ?

हरारीः यसले के देखाउँछ भने, फेरी पनि, अवस्था ज्यादै तरल छ । मानीसहरुका वर्षौ वा दशकौ देखिका मान्यताहरु जुन एउटा ढुँङ्गामा कुदिएका जस्ता थिए, ती सबै वास्तवमा, यस्तो अवस्थामा छिट्टै भत्कीने छन् । र कुरा के छ भने धेरै जसो देशहरुमा राजनीतिज्ञहरुले यसलाई एउटा आश्चर्यका रुपमा लिएका छन् । उनीहरु यस्तो प्रकारको कुराको लागि तयार थिएनन् । के गर्ने भन्ने बारेमा उनीहरु सँग कुनै योजना छैन । अनि, यो एउटा दूर्लभ अवशर हो जहाँ तपाई वास्तवमै उनीहरुलाई परिवर्तन गर्न, केही प्रयास गर्न सक्नुहुन्छ । सामान्य अवस्थमा भएको भए उनीहरु यसको बारेमा सोच्दैनथे होला । तर यो दुबै ढंगबाट अगाडी बढ्न सक्छ ।

गारसीया–नाभाररोः म यो भन्न खोजीरहेकी छु की, यो अवस्थामा तपाईको धारणाहरु के हुन? यसलाई हामीले कसरी लिने र हाम्रा सरकारहरुले यो संकटलाई कसरी प्रतिवाद गर्न सक्छन?

हरारीः एउटा चासो चाँही कठोर राज्यसत्ता र निरंकुशताको शुरुवात हुनु सँग छ । यसका लागि आकस्मीकता (संकट) हरु सबै भन्दा खतरा हुन्छन् । जनताहरु आफ्नो ज्यानको डर मान्दैछन् । अर्थतन्त्र धरासायी हुँदैछ, जनताहरु यस्तो बेलामा कुनै एउटा यस्तो नेता होस जसलाई सबै कुराको जानकारी होस र जसले हेरचाह गर्न सकोस भन्ने कुराको चाहाना राख्छन् । र हामी संसारका केही ठाउँहरु जस्तो की हंगेरीमा र केही हद सम्म मेरो आफ्नै देश इजरायलमा पनि यस्तो भईरहेको देख्न सक्छौ । यसर्थ, हामी एउटा एकाधिकारवादी राज्य सत्ताको दिशातिर उन्मुख छौ, यद्यपी, निरंकुशताको दिशातर्फ पनि सबै चिजहरुको अनुगमन वा निगरानीको खाँचो पर्दछ । र अहिले हामी लोकतान्त्रीक व्यवस्थामा पनि नयाँ निगरानी गर्ने प्रणालीहरु देख्न सक्छौ, संकटहरु सकिए पनि यी भने जाने छैनन् ।

गारसीया–नाभाररोः मेरो अर्थ हो, हामीले इजरायलमा देखेका छौ । उदाहरणको रुपमा, कोभिड–१९ सँगै जसरी मानीसहरुलाई खोजतलास गरिदै छ यो केही का लागि चिन्ताको विषय हो ।

हरारीः अँ, धेरै चिन्ताजनक छ । किनभने जुन निकायले गरिरहेको छ, खासगरी, यो एउटा गुप्तचर सेवा हो र कुनै स्वास्थ्य प्रणाली होइन । मेरो अर्थ, म कुनै निगरानी राख्ने कुराको विपक्षमा छैन । तर, यो निगरानी कसले गरिरहेको छ, कसले तथ्याङ्कहरु लिइरहेको छ वा यो दुवै तरिकाका लागि प्रयोग भएको त छैन भन्ने कुरा धेरै महत्वपूर्ण छ । मेरो अर्थ हो, निगरानी सधै दुई तरिकाबाट हुन्छ । सरकारले नागरिकहरुलाई मात्र होइन कि नागरिकले पनि सरकारलाई अनुगमन गर्न सक्छन् । म अहिलेको अवस्थाप्रति ज्यादै चिन्तीत छु, सरकारले ठूलो मात्रामा निजी सूचनाहरु संकलन गर्न थाल्यो जबकी सरकार आफ्नै निर्णय प्रक्रियाहरुमा अस्पष्ट रहेको छ । मेरो अर्थ, यस्तो समयमा सरकारहरुको पनि संसद, नागरिकहरु, आमसञ्चारका माध्यमहरुद्वारा नजिकबाट निगरानी राख्नु महत्वपूर्ण हुन्छ । र यस्तो होइन कि उनीहरु आफूले मनलागेको बेलामा संकटकाल लागू गर्न सकुन ।

यसर्थ, यो एउटा ठूलो चिन्ताको विषय हो एउटा देशको स्तरमा र सबै भन्दा त अन्तराष्ट्रिय स्तरमा अहिले सम्म के भई रहेको छ भन्ने कुराले । वास्तवमा, हामीले संसारमा अहिले नेतृत्वको भयानक अभाव देखि रहेका छौ, मानै कोठामा कुनै परिपक्क मान्छे नै छैन ।
स्वास्थ्य संकट वा आर्थिक संकटलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विश्वव्यापीरुपमा कुनै योजना नै छैन । अझै, हामीले यसको खराब स्वरुप त देखेका नै छैनौ । मलाई लाग्छ सबै भन्दा खराब स्थिति त तब आउने छ जब माहामारी र आर्थिक संकटले मध्य र दक्षिण अमेरिका, अफ्रिका र मध्यपूर्वका देशहरुलाई छोप्ने छ । अमेरिकाले यसको बचावटको लागि बीस खर्ब डलर छुट्टयाउन सक्छ तर इक्वेडर वा इजिप्ट वा बंगलादेशले त्यो गर्न सक्दैनन् । तसर्थ, प्रश्न के हो भने, यो माहामारी र अहिले देखापरेको आर्थिक संकटलाई कसरी ट्याकल गर्ने भन्ने सम्बन्धमा कहिले विश्वस्तरमा एउटा योजना देख्ने भन्ने नै हो ।

गारसीया–नाभाररोः धेरै प्रश्नहरुको जवाफ अझै खोज्नु छ । उहाँ हुनुहुन्थ्यो युभाल नोहा हरारी । उहाँ “सेपियन्सः ए ब्रीफ हिस्टरी अफ ह्युमनकाइन्ड”, र “टुवान्टी वन लेसन्स फर द टुवान्टी फस्ट सेन्चुरी” का पनि लेखक हुनुहुन्छ ।  हरारीः धन्यवाद । बाइ बाइ ।

नेशनल पब्लिक रेडियोका लागि अप्रिल ५ मा लुलु गारसीया–नाभार्रोले लिएको युभाल नोहा हरारीको यो अन्र्तवार्ताको अनुवाद प्रसान्त कुमार वि.क.ले गरेका हुन  ।