चौतारामा ५० लाखको आपत्कालीन कोष

चैत्र २५, काठमाडौ-  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने, अतिविपन्न तथा चुलो बाल्नै कठिन भएका परिवारलाई राहत उपलब्ध गराउने भएको छ । सरकारले जारी गरेको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारको वडाबाट लगत सङ्कलन गरी राहत उपलब्ध गराउने उपप्रमुख जानुका पराजुलीले जानकारी दिए। यस्तै बैठकले चैत महिनाभित्र विदेशबाट आएका व्यक्ति तथा उनीहरूको परिवारको स्वास्थ्य परीक्षण गर्ने निर्णयसमेत गरेको छ । मेडिकल अधिकृतको नेतृत्वमा घरघरमा गएर स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।