प्रसान्त कुमार वि.क.
काठमाडौ -कलसाइन नाइन एन–एकेयू रहेको वाइटुवेल्भ इ, विमान विहानको ठिक ११ः३५ बजे नेपालगञ्ज विमानस्थलमा अवतरणको क्रममा थियो । जहाज अवतरण गर्दाको दृश्य सबै साथीहरुले हेरी रहेका थियौ । अन्य समय भन्दा अलि फरक ढंगले अवतरण गर्न खोजेको जस्तो महशुस भयो । त्यसपछि, एकछिन सम्म जहाज देखिएन । जहाज खै भनेर मैले सोधे, जहाज त दुर्घटना भयो क्या हो भनेर साथीहरुले भने । मैले तुरुन्त नेपालगञ्ज टावरलाई फोन गरे । टावरको फोन व्यस्थत थियो । सायद सूचना आदान प्रदान गर्दै थियो टावरले । हामी सबै जहाज दुर्घटना भएतिरि दौडियौ । सुरक्षाकर्मीहरु, दमकल, नागरिक उडड्यन प्राधिकरणका निर्देशक लगायत कर्मचारीहरु पनि मुभ भएका थिए । जहाज रनवे नपुग्दै रनवेसाइडमा करिब ६० मिटर जतिको दुरीमा दुर्घटना भएको थियो । विविसी नेपाली सेवा वा अन्य पत्रपत्रिकाहरुले रनवेबाट उछिटिट्टएर बाहिर गएको भने जस्तो होइन ।
काठमाण्डौबाट नेपालगञ्जका लागि उडेको चार्टर विमानले कोरोनाविरुद्व लडनका लागि स्वास्थ्य सामग्रीहरु लैजानु थियो । क्याप्टेन कुल बहादुर लिम्बुको नेत्तृवमा चालक दलमा एफओ महेश पाण्डे र विमान परिचालिका किरण आचार्य थिए भने स्वास्थ्यकर्मीहरुमा भेरी अञ्चल अस्पतालका रेडियोलोजिस्ट कन्सल्टेण्ट डा. सन्देश देवकोटा र नेपालगञ्ज मेडिकल कलेजका फिजीसियन कन्सल्टेण्ट डा. प्रवेश पन्त थिए । विमानमा रहेका सबै सकुशल थिए । दुर्घटनामा कसैलाई सामान्य चोटपटक पनि लागेको थिएन । विमान परिचालिका किरणले जहाज झाडिमा देखे पछि इमेरजेन्सी ल्याण्डिङ गरेको होला भन्ने अनुमान गरेको अनुभव सुनाइन । नेपालगञ्जका लागि उनको यो पहिलो उडान थियो । यसका बाबजुद पनि उनको मनोबल रत्तीभर घटेको थिएन । पुनः निगमकै अर्को विमानबाट अपरान्ह रेस्क्यूका लागि इन्जिनियर सहितको टोलीले अनुगमन गरेर फर्केको थियो । साथै, स्वास्थ्य सम्बन्धि सामग्रीहरु पनि लगेर गएको थियो ।
विहान देखि नै सम्बन्धित सबै सँग समन्वय गरी जहाजलाई कसरी व्यवस्थित ढंगले ह्याण्डलिङ गर्ने बारे साथीहरु वीच छलफल भएको थियो । त्यसो त तीन दिन अगाडी देखि नै हामीहरु यसका लागि स्ट्याण्ड बाइ भएका थियौ । आज विहान सबै साथीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर भए नभएको सुनिश्चित गरेपछि मैले काम गर्दा आवश्यक दुरी राख्नु भनेको थिए । देशमा भईरहेकोे लकडाउन उल्लघंन, इटालीले पाएको दुःखले मन खिन्न भएको थियो । सोसल मिडायाका भित्ताहरु सोसल डिस्टण्ट नराखेमा, लकडाउन पालना नगरेमा इटालीको जस्तै हालत हुन्छ भनेर सजग गराईएका स्टाट्सहरुले भरिएका थिए । यति धेरै डर र त्रासका वीच पनि निगमका कर्मचारीहरु अहोरात्र काममा खटिएका छन् । हालै निगमको विमानबाट स्वास्थ्य सम्बन्धि सामग्रीहरु चीनबाट ल्याइएको छ । विगतमा झै यस पटिक पनि संकटको समयमा निगमका कर्मचारीहरु आफ्नो जीवनलाई दाउँमा राखेर काम गर्देछन । यो सबै जनताले गरेको भरोसाका कारण हो ।
अहिले विश्वभरी कोरोना भाइरसको आतंक छ । आर्थिक तथा प्राविधिक दुबैरुपमा समक्षम राष्ट्रहरु अमेरिका, चीन, जर्मनी, फ्रान्स, बेलायत, इटाली, स्पेन र हाम्रै दक्षिणको छिमेकी भारत सबैलाई कोरोना भाइरसले घुडा टेकाउँदै छ । विज्ञहरु विश्व आर्थिक महामन्दीको अनुमान लगाउदै छन् । नेपाल पनि यसको चपेटामा परेको छ । नेपाल जस्तो विकासोन्मुख देशले कसरी यसको सामना गर्दछ भन्ने प्रश्न उब्जीएको छ । तथापी, कोरोना विरुद्वको लडाईको मोर्चामा निगमका कर्मचारीहरु कम्मर कसेर लागेका छन् । । यसमा सबै जनताको सहयोग र सदभाव अहिलेको आवश्यक्ता हो ।
¬(यो लेखकको व्यक्तिगत विचार हो । उनी नेपाल वायुसेवा निगम, पश्चिामाञ्चल क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक हुन ।)