लक डाउन – के गर्ने, के नगर्ने ?

चैत १०, काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबार ६ बजेदेखि नेपाल लक डाउन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपालमा कोभिड १९ फैलिने सम्भावना देखिएको भन्दै भोलि विहान ६ बजेदेखि चैत १८ गते विहान ६ बजेसम्म लक डाउन गर्ने निर्णय गरेको हो ।

मुलुक लक डाउन गर्ने निर्णय भएसँगै अब अत्यावश्क अवस्था बाहेक घरबाहिर निस्कन पाइने छैन । बजारमा औषधी उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि ब्यक्ति घरबाट बाहिर निस्कन बन्देज लगाइएको छ ।

यस्तै, अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायकाले प्रयोग गर्ने सवारी साधन बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सन्चालनमा रोक लगाइएको छ ।

सबै आन्तरिक तथा बाह्य उडान बन्द गरिएको छ । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गरिएको छ ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोर मैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेकका अन्य सबै कार्यलय सन्चालनमा रोक लगाइएको छ ।

औषधी तथा स्वास्थ्यक उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने कर्मचारीलाई विदा दिनुपर्ने निर्णय उच्चस्तरीय समितिले गरेको छ । व्यवसायीहरुले औषधी र औषधीजन्य सामाग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय पनि समितिको छ ।

समितिले कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने र आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने र सामाग्री जफत गर्ने उल्लेख छ ।