आजदेखि चिडियाखाना बन्द

चैत ७, काठमाडौं – विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीको सङ्क्रमण रोक्ने तयारी अनुसार ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना शुक्रबारदेखि बन्द गरिएको छ । आजदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने भएका हुन् ।

अवलोकनको लागि बन्द गरे पनि जीवजनावरको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन् । हरेक दिन चिडियाखाना बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो । अहिले चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका दुई सय विद्यालएका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन् ।

अहिले चिडियाखानामा एक सय १९ प्रजातिका एक हजार ९८ वटा जीवजनावर रहेको छ । जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा कम हुँदै गएको खुला स्थान र जीवजनावर हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोककर्तामा कुनै कमी आएको छैन । अवलोकनका लागि विदेशीको लागि ७५० रुपैयाँ तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकका लागि ५०० रुपैयाँ, नेपालीलाई १५० रुपैयाँ र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ९० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।