फागुन २९, एजेन्सी – साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग तीन–दुईले पराजित भएसँगै समग्रमा चार–दुईको हारसहित लिभरपुल प्रतियोगिताबाट बाहिरिएको हो ।
दुई पटक अग्रता लिए पनि लिभरपुलले खेल जित्न सकेन । ४३ औँ मिनेटमा जर्जि्नियो विज्नाल्डमले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ९० मिनेट समग्रमा एक–एकको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयको चौथो मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई दुई–शून्यको अग्रता दिलाए । तर एट्लेटिकोका मार्कस लोरेन्टले ९७ औँ र १०५ औँ मिनेटमा गोल गर्दै खेल दुई–दुईको बराबरी गरेका थिए । खेलको अन्तिम समयमा अल्भारो मोरटाले गोल गर्दै एट्लेटिकोलाई तीन–दुईको जित दिलाए ।
पहिलो लेगमा एट्लेटिको एक–शून्यले विजयी भएकोले समग्रमा चार–दुईको जितसहित अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।
यस्तै पेरिस सेण्ट जर्मेइन पनि च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको छ ।
कोरोना भाइरसका कारण रित्तो रङ्गशालामा बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्टलाई दुई–शून्यले हराउँदै समग्रमा तीन–दुईको जित निकाल्दै पीएसजी अन्तिम आठमा पुगेको हो । पीएसजीका लागि नेयमार र बेर्नाटले गोल गरे ।