फागुन २९ एजेन्सी–कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि अमेरिकाले युरोप यात्रामा प्रतिबन्ध लगाएको छ ।
बुधबार टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० दिनसम्मका लागि युरोप यात्रामा रोक लगाएको घोषणा गरेका हुन् ।
‘नयाँ संक्रमण प्रवेश गर्न नदिन युरोपयात्रामा ३० दिनका लागि रद्द गर्दैछौं,’ उनले भने । यो घोषणा शुक्रबार मध्यरातदेखि लागू हुने बताइएको छ।
ट्रम्पले कोरोनाबाट अमेरिकी अर्थतन्त्रलाई प्रभावित हुन नदिन करमा राहतका प्रावधान पारित गर्न कंग्रेसलाई आग्रह गरेका छन्।
तर यो कडा तर आवश्यक प्रतिबन्ध बेलायतको सन्दर्भमा भने लागू नहुने उनले बताएका छन्।
बेलायतमा हालसम्म ४ सय ६० संक्रमित पुष्टि भएको छ ।अमेरिकामा भने हालसम्म १ हजार १ सय ३५ जनामा कोरोना लागेको प्रमाणित भइसकेको छ भने ३८ जनाको मृत्यु भइसकेको छ।