आर्मी र संकटा भिड्दै

फागुन २७, काठमाडौं  – पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल आज (मंगलबार) हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २-३० बजे सुरु हुनेछ ।

साविक उपविजेता टिम आर्मी यस पटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ । अघिल्लो संस्करणमा आर्मी फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

आहा रारा गोल्डकपमा आर्मीले १५ संस्करण खेलिसकेको छ । तर, आर्मीले उपाधि जित्न सकेको छैन । आर्मी २०६५, ६६, ७२ र ७५ सालमा उपविजेता बनेको थियो ।

आर्मीले यस प्रतियोगितामा २८ खेल खेल्दा ३९ गोल गरेको छ भने २५ गोल खाएको छ । आर्मीले पाँच टाइब्रेकर खेलमा भने पाँचै खेल हारेको छ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।