कोरोना संक्रमणबाट जोगिन हात नमिलाउने बागमती प्रदेश सरकारको निर्णय

फागुन २३ काठमाडौं – कोरोना भाइरस संक्रमणबारे उच्च सतर्कताका लागि पटक–पटक आग्रह गर्दै आएको बागमती प्रदेश सरकारले हात नमिलाउने निर्णय गरेको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हात मिलाउँदा वा अंकमाल गर्दा कोरोना एकको शरीरबाट अर्कोमा सर्ने भन्दै हात नमिलाउने निर्णय गरेको हो।

प्रदेश सरकारले कोरोनाको संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिनेसमेत निर्णय गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको दाबी गरेको छ।

हात मिलाउँदा कोरोना संक्रमण फैलन सक्ने भन्दै ‘नो ह्याण्डसेक’को नीति अवलम्बन गर्न जनसमुदायमा आह्वान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए।