मोडल खुश्वु ओलीलाई दुई बर्ष जेलको फैसला

फागुन, १८ काठमाडौं । काठमाडौं जिल्ला अदालतले चेक बाउन्स मुद्दामा मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ । सप्तरीका गोपाल कटुवालसँग ओलीले २ वर्षअघि लिएको ३६ लाख रुपैयाँ नतिरेपछि कटुवालले मुद्दा दायर गरेका थिए । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनलाई दुई वर्ष कैदको फैसला सुनाएको हो ।

कटुवालले पटक पटक रकम फिर्ताका लागि ताकेता गरेपछि ओलीले चेक दिएकी थिइन् । उनले खुश्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत् ३६ लाख रुपैयाँको चेक कटुवाललाई दिइन् । तर त्यसमा रकम थिएन । कुमारी बैंक न्युरोड शाखामा ओलीको खातामा रकम नभएको भन्दै बैंकले पैसा नदिएपछि कटुवाल अदालत पुगेका थिए ।

कटुवालले ओलीविरुद्ध दायर गरेको ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा जिल्ला अदालतले ओलीविरुद्ध गत जेठमा ३ महिना कैद र ३ हजार जरिवानासहित चेकको रकम साँवा र व्याजसहित तिर्न विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिम आदेश दिएको थियो ।

तर, अदातलको त्यो फैसला कार्यान्वयन नभएपछि कटुवालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिए ।
त्यसपछि साउन १३ गते जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धित वडामा पठायो । वडाले म्याद तामेल गर्दा पनि ओली सम्पर्कमा आइनन् । त्यसपछि कटुवालले ओलीको जायजेथा प्राप्त गर्न नसकेको र उनी सम्पर्कमा समेत नआएको भन्दै जरिवाना र बिगो बमोजिम कैद माग गर्दै २८ पुसमा फेरि मुद्दा दिएका थिए ।

उनी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीसागको सम्बन्धका कारण पनि चर्चामा थिइन् ।