कोरोना भाईरस : हङकङमा कामविहिन नेपाली

फागुन, १६ हङकङ – मुखमा अनिवार्य मास्क, हातमा ग्लोबर्स र सेनिटाईजर हङकङको दैनिकी बनेको छ । कोरोनाको सङ्क्रमण बढेसँगै यि दैनिक प्रयोगका सामाग्रीेहरुको आवश्यकता बढेको हो । हङकङका सधै ब्यस्त अत्याधिक चहलपहल हुने स्थानहरु अहिले शुन्यप्राय छन । होटल, रेस्टुरेन्ट खाली खाली छन् भने कतिपय बन्द भईसकेका छन् । मानिसमा त्रासदी छ, एकले अर्कोलाई शंकाको दृष्टिले हेर्छन । केहि कारणबस कसैलाई सामान्य खोकी मात्र लाग्यो भने पनि भागाभाग हुन्छ ।
हावाको माध्यमले एकबाट अर्कोमा तिव्ररुपमा सर्ने कोरोनाको प्रकोपकै कारण सार्वजनिक स्थानहरुमा जमघटको मात्र कम भएको हो ।

लगभग दुई महिना हुन लाग्यो कोरोना भाईरसको संक्रास उस्तै छ । संञ्चारमाध्यममा कोरोना प्रतिरोधात्मक भ्याक्सिनको पहिचान सम्भव भएको भन्ने समाचार सुनिए पनि वास्तविकतामा महशुस गर्न सकिएको छैन ।
हङकङको नेपाली समाजमा दजर्नौ संघसस्थाहरु छन् । हरेक हप्ता एउटा न एउटा संस्थाले कार्यक्रमको आयोजना गरेकै हुन्छन् । कोरोना प्रकोपकै कारण आयोजना गर्ने भनिएको कार्यक्रमहरु समेत स्थगन भएका छन् । फोटो पत्रकार राजभक्त भन्छन् हरेक दिनको भयभित समाचारले साह्रै गाह्रो भईसक्यो । हेर्दा हेर्दै जनजीवन कष्टकर भईरहेको छ । बाहिर हिड्ने वातावरण नै छैन ।

मृत्युको भय
आफ्नो जीवनको महत्व सवैलाई हुन्छ । मृत्यु असम्भवभावी छ, एकदिन सवै मनुपर्छ तर मृत्युको भयमा बाच्न झनै गाह्रो । स्थानिय सोनु सुब्बा भन्छिन् चारैतिर सवैजना डराएको मात्र देख्छु । काम नगरि बाच्न गाह्रो छ, दैनिक उपभोग्यका सामाग्रीसगै घरभाडा, बिजुली, पानीको बिल तिर्नका लागि पनि काम गर्ने पर्छ, बाहिर हिडनै पर्छ । मुखमा मास्क मात्र लगाएर ढुक्क हुन नसकिने रहेछ । जो मानिस देख्न पनि मृत्युको भय देख्छु ।
सामाजिक सचेतक कृष्ण प्रधान भन्छन् सार्वजनिक भएका समाचारले पनि मानिसमा भय श्रृजना गरेको छ । हरेक दिन सङ्क्रमितक र मृत्यु हुने मानिसहरुको समाचारले यस्तो भय श्रृजना गरेको हो । हामीपनि प्रतिक्षा गरिरहेका छौ, अव केहि नियन्त्रण होला कि भन्यो हरेक दिन संक्रमितको बारग्राफ माथी चढको मात्र देखिन्छ ।

सहयोगको बदला सहयोग
नेपालमा भुकम्प जादा हङकङका स्थानिय, चाईनिजहरुले सकेको सहयोग गरे । सार्वजनिक स्थलमा सहयोग रकम संकलन गर्दा पनि सवैले आर्थिक सहयोग प्रदान गरे । गुनको बदला गुन तिर्नुपर्छ भन्दै हङकङमा खोलिएका नेपाली संघसस्थाहरुले निशुल्क मास्क र सेनिटाईजर वितरण गरे ।

लाली गुरास एसोसियसनले १० हजारप्रति मास्क वितरण गदै सहयोगको थालनी गऱ्यो । एसोसियसनले वृद्धवृद्धा, स्थानियहरुलाई सडकमै निशुल्क मास्क वितरण गरेको थियो । नेपाली जनसम्पर्क समिती, हङकङ नेपाली महासंघ, नेपालीहरुका लागि हङकङ सरकारको आर्थिक सहयोग रहेको सिएसटिएन प्रोजेक्ट, हङकङ एकिकृत नेपाली समाज (हिन्स), एनआरएनए हङकङ लगायतले निशुल्क मास्क, सेनिटाईजर वितरण गरे ।
सामाजिक युवा अभियान्ता चेतन गुरुङ भन्छन् बजारमा मास्कको अभाव श्रृजना भएसगै अत्याधिक मंहगी पनि बढ्यो । हामीले नेपालबाट केहि प्रति मास्क मगायौं र स्थानियहरुलाई निशुल्क वितरण गऱ्यौ । हामी हङकङमा पैसा मात्र कमाउन आएका हैनौ, हाम्रो वीरता, मानवियता र स्वाभिमानको परिचय दिनपनि आएका हौ । हामीलाई आपत पर्दा उनीहरुले सकेको सहयोग गरे, आज उनीहरु पिडामा छन्, हामीले सकेको सहयोग गर्नुपर्छ ।

मास्कको कालो बजारी
हावाको माध्यमबाट तिव्ररुपमा एकअर्कामा सजिलै फैलन कोरोना भाईरसबाट बच्नका लागि खानपिन र सरसफाईमा ध्यान दिनेसगै अनिवार्यरुपमा मास्क पनि लगाउनु पर्छ । बजारमा मास्कको माग बढ्न थालेसगै अभाव श्रृजना भएको हो । अत्याधिक मास्कको खपत र मानिसले स्टोकमा राख्न थालेपछि बजारमा अभाव श्रृजना भएको हो । यहि मागलाई मध्यनजर गर्दै ब्यापारीहरुले शुरु गरिदिए कालो बजारी । २०/३० डलरमा पाईने प्याकेटलाई २००/३०० डलरसम्म पर्न थाल्यो । नेपालीहरुले पनि नेपाल, भारत लगायतका देशहरुबाट मास्क आयात गरि धमाधम विक्री वितरण शुरु गरे । विभिन्न देशहरुबाट मास्कको आयातसगै कम गुणस्तरका मास्कहरुले बजार ततायो । हङकङ सरकारका स्वास्थ्य निकायहरुबाट मास्क विक्री गरिरहेका स्थानिय स्थलहरुमा निगरानी र गुणस्तरको चेकजाच शुरु भएसगै केहि नियन्त्रण सम्भव भयो । तर पनि कम गुणस्तरका मास्कहरुको विक्रिवितरण खुलेआम भईरहेका छन् ।

नेपालीहरुको अवस्था
हङकङमा लगभग ४० हजारको हारहारीमा नेपालीहरुको बसोबास रहेको छ । निर्माण र सुरक्षाको क्षेत्रमा मात्र सिमित नेपालीहरु ब्यापार, ब्यवसाय र शिक्षाको क्षेत्रमा पनि आफ्नो बलियो उपस्थिती जनाईरहेका छन् ।
कोरोना भाईरसको संक्रमण भएसगै आतंकित नेपाली समुदायमा अहिलेसम्म संक्रमणको कुनै पनि लक्षण देखिएको छैन ।

रोग प्रतिरक्षा प्रणाली कमजोर भएका केटाकेटी, वृद्धवृद्धालाई चाडो आक्रमण गर्ने कोरोना भाईरसबाट बच्नका लागि खानपिन र सरसफाईमा ध्यान दिन जरुरी छ ।
मोडल बिनोद बस्नेत भन्छन् सानो सानो कोठा, घना बस्तीले नेपालीहरु पनि संक्रमणमा पर्ने प्रबल सम्भावना छ । स्वास्थ्य र सरसफाईमा अति ध्यान दिन आवश्यक छ । घरमा काम गर्ने (डोमेस्टिक हेल्पर)हरुलाई पनि समेसम्म बाहिर, अरुको सम्पर्कमा जान नदिनका लागि आग्रह गर्नु पर्दछ ।

बजारमा मास्कको अभाव भएपनि नेपालीहरुलाई खासै प्रभाव परेन । दैनिक हुने फ्लाईटमा आफ्न्तजनबाट आएको पार्सल मास्कले पनि आवश्यकता पुर्ति भयो । दैनिक उपभोग्यका बस्तुहरु चामल, दाल, तेल लगायत बजारमा अभाव हुदा पनि नेपाली पसलहरुमा भारतबाट आयात हुने सामाग्रीहरुले अभाव श्रृजना हुन दिएन । बराह ज्वेलरी हङकङकी सेल्स म्यानेजर सोनु भन्छिन् केहि दिन अभाव महशुस भएपनि अहिले आवश्यकीय सामानहरु पाईन्छ तर अत्याधिक महङो, किन्नै नसिकिने ।

दूतावासको अनलाईन सेवा
हङकङ स्थित महावाणिज्य दुतावासले आफ्नो सेवाहरु अनलाईन (डिजिटल ईसेवा) मार्फत प्रदान गरिरहेको छ । कोरोना भाईरसको संक्रमण तिव्र भएसगै अफिसमा हुने भिडभाड र प्रत्यक्ष सम्पर्कलाई कम गर्नका लागि अनलाईनबाट सेवा प्रदान गरिरहेको छ । हामीले चुस्त दुरुस्त सेवा प्रदानका लागि अनलाईन म्यासेज र निवेदनहरुमा विशेष ध्यान दिईरहेका छौ । सम्पुर्ण नेपालीहरुलाई सर्तक रहनका लागि पनि अनुरोध गर्दछौ महावाणिज्यदुत कमलप्रसाद भट्टराई बताउछन् ।

कामको अभाव, अधिकांश कामविहिन
निर्माण, सुरक्षा र होटल क्षेत्रमा काम गर्ने अधिकांश नेपालीहरु कामविहिन भएका छन् । भाईरस भयकै कारण अधिकांश होटलहरु बन्द भएका छन् भने केहि बन्द हुने अवस्थामा छन् । बाहिरको खानपिन र भिडभाडमा जादा संक्रमणको खतरा हुने भएकाले होटलमा काम गर्ने कामदारहरुको संख्या पनि घट्ने क्रममा छ । बिनोद बस्नेत विगत ३ महिनाबाट कामविहिन भएका छ्न । निर्माण क्षेत्रमा काम गर्ने उनी भाईरस संक्रमणले साईट बन्द भइपछि कामविहिन भएका हुन् । धेरै ठाउमा बुझिसके कहि पनि काम छैन, काम गर्ने धेरै साईटहरु बन्द भईसकेका छन् उनी भन्छन् ।

कामको अभावले समय काट्न मुस्किल परिरहेको छ । बचत गरेको पैसा निकाल्दै दैनिकी निर्वाह गरिरहेका छौ आशा छ, चाडै समस्याका हल हुन्छ र नर्मल लाईफ शुरु हुन्छ, रेष्टुरेन्टमा वेटरको काम गर्ने आशा गुरुङ बताउछिन् ।

हङकङ सरकारको राहत कार्यक्रम
सरकार विरोधी आन्दोलनपछि भाईरस संक्रमणले गर्दा दयनिय अवस्थामा गुज्रिरहेको हङकङले आफ्ना नागरिकलाई विभिन्न राहतका कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ । नागरिकहरुका असहजतालाई महशुस गर्दै पानी, बिजुलीको बिलमा छुट सगै विद्यार्थी, जेष्ठ नागरिकहरुलाई राहतका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

अर्थ सचिव पौल चानले वर्तमान आर्थिक बजेट प्रस्तुत गर्दै १८ बर्ष पुगेका हङकङका स्थायी बासिन्दालाई प्रतिब्यक्ति १०,००० डलर, निर्माण क्षेत्रमा काम गर्नेहरुलाई १५०० डलर र मान्यता प्राप्त निर्माण ब्यवसायलाई ५०,००० हङकङ डलर आर्थिक सहयोग रकम प्रदान गर्ने घोषणा गरेका छन् । स्थानीय जनतालाई राहतसगै साना ब्यापारीहरुलाई सहुलियत क्रणको लागि पनि १ सय २० अर्वको प्याकेज सार्वजनिक गरिएको छ ।

नेपाल फर्कनेहरुको लाईन
कोरोना भाईरस संक्रमणको क्रास र कामविहिन भएको अवस्थामा नेपालीहरु सुरक्षित गन्तब्यकोरुपमा नेपाल फर्किरहेका छन् । नेपाल एयरलाईन्सका कन्ट्रि म्यानेजर नवराज उपाध्ययका अनुसार नेपालीहरु १ देखि ३ महिनासम्मका लागि विदामा गईरहेका छन् । नेपालबाट हङकङ आउने नेपाली र पर्यटकहरुको संख्यामा पनि खासै कमि आएको छैन उनले भने ।
अहिलेसम्म १ जनालाई कोरोना सक्रमणको समाचार सार्वजनिक भएपनि स्थित सामान्य छ । हङकङमा संक्रमण देखिएपनि महामारीकोरुप नलिएको र नेपालीहरुमा नदेखिएकाले पनि आउने र जाने संख्यामा गिरावट नआएको उपाध्यय बताउछन् ।

नेपालीहरुको कोरोना प्रतिरोधात्मक कार्यक्रम
कोरोनाबाट जोगिनका लागि नेपाली समुदायमाझ विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेका छन् । गतहप्ता मात्र भाईरसबाट जोगाउान र स्वास्थ्य सम्बन्धी जानकारी दिनका लागि हङकङ नेपाली महासंघ, सिएसटिएन र नेपाल क्लब हङकङले संयुक्तरुपमा एक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा उपस्थित विद्यार्थी, वृद्धवृद्धा, जेष्ठ नागरिक समाजका अगुवाहरुलाई डा. लक्ष्मी रानाले भाईरसको परिचय, संक्रमण, पहिचान र नियन्त्रणका साथै रोकथामका उपायहरुका बारे जानकारी प्रदान गरेकी थिईन ।

कार्यक्रममा सहभागीहरुलाई भाईरसबाट बच्नका लागि मास्कको प्रयोग, सरसफाईको उपयुक्त तरिका निर्देशित पोष्टर, मास्क प्रदान गरिएको थियो ।
यो सगै हङकङमा रहेका नेपाली संघसस्थाहरुले विभिन्न संञ्चारमाध्यमबाट, प्रत्यक्ष भेटेर र विभिन्न प्रकारका सचेतना सम्बन्धी कार्यक्रमहरुको आयोजना गरेर नेपालीहरुलाई सर्तक गराईरहेका छन् ।

विश्वब्यापीरुपमा कोरोनाको संक्रमण
चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना (कोभिड १९)ले विश्वब्यापीरुपमा आतंक मच्चाईरहेको छ । समाचार तयार पार्दासम्म चीनमा भाईरस संक्रमणकै कारण २,७६३ जनाको मृत्यु भएको छ, ८१,१२४ जनामा संक्रमण देखिएको छ भने ३०,००२ जना कोरोना संक्रमितको सफल उपचार भईसकेको छ ।
हङकङमा कोरोनाकै संक्रमणको कारणले २ जनाको मृत्यु भएको छ भने ८५ जनामा संक्रमण देखिएको छ । पछिल्लो समय साउथ कोरियामा १,२६१ जनामा संक्रमण देखियो भने ११ जनाले ज्यान गुमाए । ईटलीमा पनि ३२३ जनामा संक्रमण देखियो ११ जनाले ज्यान गुमाए । अन्य देशहरु जापान, ईरान, सिंगापुर, अमेरिका, थाईल्याण्ड, फिलिपिन्स लगायतका देशहरुमा तिव्र गतिले भाईरस संक्रमण भईरहेको छ ।