फागुन १०, काठमाडौं – निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन प्रकरणबारे अख्तियार दुरुपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने भएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गे्निङको अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका बाँस्कोटाको राजीनामा बिहीबार नै स्वीकृत भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसीका विषयमा अर्को बैठककमा छलफलपछि निर्णय गर्ने भएको छ । शनिबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गरेपनि सामान्य छलफल मात्रै भएको नेताहरुले बताएका छन् ।
नेकपाभित्र विवादित बनेको एमसीसी अध्ययनका लागि नेकपाले बनाएको एमसीसी कार्यदलले गत शुक्रबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । खनाल नेतृत्वको कार्यदलले एमसीसी सम्झौता सच्चाएरमात्रै स्वीकार गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।