फागुन ८, काठमाडौं – यस वर्षको शिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगारेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीको फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङगलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एकरएक लाइन गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअघि नै भुवनेश्वरीको फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ त्यही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।
शिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजन र समग्र व्यस्थापनलाई मध्यनजर गरी कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्ष योगेशकुमार भट्टराईको संयोजकत्वमा एक सय ११ सदस्यीय मूल समिति –२०७६ गठन गरिएको छ ।
यस वर्ष शिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर मनाउन मन्त्रीकै अध्यक्षतामा समिति गठन भएको हो । यसैगरी सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचारप्रसार, साधुसन्त तथा धार्मिक, वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट, स्वयंसेवा, दर्शन, चन्दन तथा मन्दिर एवं रात्रिकालीन व्यवस्था, स्वयंसेवा परिचालन एवं अनुगमन, सरकारी निकाय समन्वय, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन उपसमिति गठन गरिएको छ ।