एक लाख रुपैयाँ घुस कार्यालयमै लुकाउने डिभिजन प्रमुख पक्राउ

फागुन ७, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सिचाइ डिभिजन कार्यालय पाटन बैतडीका प्रमुख सुरेशराज भट्टलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

घुस लिएको भन्ने गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले भट्टलाई घुस रकमसहित पक्राउ गरेको हो ।

खानतलासी गर्दा उनले लिएको घुस कार्यालयमै लुकाएर राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । भट्टले चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस लिएको खुल्न आएको छ ।