सरुवा–बढुवामा नेता र जनप्रतिनिधि नगुहार्न मन्त्री बाँस्कोटाको आग्रह

फागुन ४, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षकलाई सरुवा–बढुवामा ‘घरपायक’ बनाउन नेता तथा जनप्रतिनिधि नगुहार्न आग्रह गरेका छन् ।

उनले आज बनेपा नगरपालिका–३ सुमारास्थित प्रभात आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव तथा नवनिर्मित दुईतले छकोठे भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक सुरुवा–बढुवामा नेता तथा जनप्रतिनिधि र आफूलाईसमेत नगुहार्न आग्रह गरेका हुन् ।

मन्त्री बाँस्कोटाले भने, ‘अब शिक्षकको समायोजनको बेला आएको छ, आफू र आफ्नो मान्छे शिक्षक भए सरुवा–बढुवामा कसैलाई भेटेर हैरान पार्ने हैन, जहाँ विद्यार्थी त्यहाँ शिक्षक हुनुपर्छ ।” उनले आफ्नो मान्छे कहाँ प¥यो भनेर निगरानी गरेर नहिँड्न पनि शिक्षक युनियन, सङ्घ र सङ्गठनलाई सुझाव दिए ।

शिक्षकलाई सरकारले सुविधासहित पारिश्रमिक दिएपछि समायोजनका आधारमा अभावको स्थानमा जाने र विद्यालयमा शिक्षाको स्तर बढाई असल नागरिक जन्माउनुपर्छ, यो उहाँहरुको कर्तव्य पनि हो”, उनले भने ।

‘घरपायक’ मात्रै भनेर सङ्घ–सङ्गठनको नाममा आन्दोलन गरेर ‘पुल्ठो झोस्न’ नहुने उनको तर्क थियो ।