सिन्धुपाल्चोकको जुगलमा देखियो कोरोनासँग मिल्दो लक्षण

माघ २८, काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले कोरोना भाइरसको लक्षणसँग मिल्दो ज्वरोका बिरामी भेटिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रचार गरेको छ।

सोमबार जुगल गाउँपालिकाले मन्त्रालयमा पठाएको पत्रमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएको भन्दै पत्रचार गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा २७ माघदेखि त्यस्ता बिरामी भेटिएको भन्दै सहयोग गर्न गाउँपालिकाले मन्त्रालयलाई अपिल गरेको छ।

’विश्वमा फैलिइरहेको नोभल कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परीक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं,’ प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ।

मन्त्रालयमा पठाइएको पत्रसहित लामो स्टाटस लेख्दै गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले हालसम्म १ सय भन्दा बढी व्यक्तिमा यस्तो लक्षण देखापरेको उल्लेख गरेका छन्।